पर्यटकीय साझेदारी बढाउन ‘जाउँ है बेगनास पोखरा’को टोली बर्दियाको ठाकुरबाबा पुग्यो
																	
																टुरिजमफेस
बर्दिया । आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका साथ आइतबार पोखराबाट निस्केको ‘जाउँ है बेगनास पोखरा’को टोलीले सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका विषयमा छलफल गरेको छ ।
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष(२०२५ को सहयोगमा त्रीदिवसीय कार्यक्रमका साथ निस्केको टोलीले बेगनास क्षेत्र र बर्दियाको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको हो ।
पर्यापर्यटन विकास मञ्च ठाकुरद्वाराको सहजीकरणमा ठाकुरबाबा नगरपालिकामा गरिएको कार्यक्रमका सहभागीले पर्या(पर्यटनलगायत क्षेत्रमा एकरुपता रहेकाले बेगनास र बर्दियाबीच पर्यटकीय साझेदारीले दुवै लाभान्वित हुनेमा जोड दिइएको हो ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख तीलकराम लम्सालले नेपाल आफैँमा प्रचुर पर्यटकीय सम्भावना भएको देश भएकाले राज्यका तीनवटै तहले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने बताए । पोखरासँगको पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको जनाउँदै उनले आपसी समन्वयबाट दुवै क्षेत्रको पर्यटकीय विकासलाई अघि बढाउन सकिने धारणा राखे ।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका सहसंयोजक एवं होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका बेगनासतालसहितका सात तालहरू, यहाँबाट देखिने हिमाली दृश्यसँगै पर्यटकीय सम्भावनालाई उजागर गर्नेतर्फ आफूहरू लागेको बताए ।
