जवाफ दिन्छन् कि कारवाहीमा पर्छन् नेपाल प्रहरीका महानिरीक्षक ?
टुरिजमफेस
काठमाडौं । जेनजी आन्दोलनमा भएको धनजनको छानविन गरिरहेको उक्त घटना जाँचबुझ आयोगलाई असहयोग गरेपछि आयोगले कारवाही किन नगर्ने भन्दै नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङलाई स्पष्टीकरण सोधेपछि अब उनले गर्छन् भन्ने प्रश्न उठेको छ ।
आयोगले खापुङलाई अनुसन्धानमा सहयोग किन नगरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता एवम् प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्माले बताए ।
शर्माका अनुसार आयोगले मागेको विवरण अनुसार प्रहरीले तथ्यांक पठाएको छैन । भदौ २३ र २४ गतेको घटना हुँदा फिल्डमा को को थिए भनी मागेको विवरणमा प्रहरी प्रधान कार्यालयले जवानदेखि महानिरीक्षकसम्म फिल्डमा रहेको जवाफ फर्काएको छ ।
प्रहरीको यस्तो जवाफलाई गैरजिम्मेवार भन्दै आयोग रिसाएर महानिरीक्षकलाई कारवाही किन नगर्ने भन्ने स्पष्टीकरण सोध्ने निर्णयमा पुगेको हो ।
आयोगले २४ घण्टाभित्र खापुङले कस्तो जवाफ दिन्छन् सोही अनुसार निर्णय गर्ने तयारी गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिमा दोषीलाई कारवाही नगर्ने हो भने देशमा दण्डहीनता फैलने भएकाले दोषीलाई कुनै पनि हालतमा कारवाही हुनुपर्ने सर्वसाधारण र मानवअधिकारकर्मीहरूको माग रहँदै आएको छ । तर कैयनले भदौ २३ र २४ गतेको घटनामा कसैलाई पनि कारवाही नगरी सामसुम पार्ने प्रयास गरिरहेका छन् ।
