विकट क्षेत्रमा धमाधम दूरसञ्चार सेवा विस्तार, पर्यटक र स्थानियलाई सन्देश आदानप्रदानमा सहज
टुरिजमफेस
काठमाडौं । नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरूमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको छ ।
सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका विकट क्षेत्रमा टेलिकमको टेनवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि भएको हो । दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तारमा अघि बढेको टेलिकमले एकपछि अर्को विकट क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्दै लगिरहेको छ ।
हालै बाजुराको बुढीनन्द गाउँपालिकामा उच्च गतिको फोरजी इन्टरनेट सेवा सुरु भएको छ । नेपाल टेलिकमले गाउँपालिकाको वडा नं ७ मा नयाँ फोरजी एलटीइ टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको हो । स्थानीय नरेन्द्र महतका अनुसार टेलिकमको टावरबाट बुढीनन्दका वडा नं ७, ८, ९ र १० का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यता डोल्पाको ठूलीभेरी नगरपालिका र से-फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्ती सञ्चारको पहुँचमा जोडिएका छन् । दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर बिहीबारदेखि सञ्चालनमा आएको जानकारी दिए । योसँगै वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्ती सञ्चारको पहुँचमा जोडिएका उनले उल्लेख गरे ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतामा टेलिकमको नेटवर्क विस्तार, कुनाकन्दरामा इन्टरनेटको पहुँच अभिवृद्धि भएको हो । यसअघि गत असोज ३१ गते पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा पहिलोपटक फोरजी सेवा विस्तार भएको थियो । त्यतिमात्र होइन, मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेदेखिनै बझाङको तलकोटमा पनि पहिलोपटक फोरजी सेवा विस्तार भएको थियो । गत असोज ३१ गते नै दार्चुचालको मार्मा गाउँपालिकामा टेलिकमको टुजी र फोरजी सेवा सुरु भएको छ । जाजरकोटमा दुई सातादेखि अवरुद्ध दूरसञ्चार सेवा सञ्चारमन्त्रीको ताकेतापछि सञ्चालन भएको थियो ।
सञ्चारमन्त्री खरेलले टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रहरूमा उक्त सेवाको पहुँच पुर्याउन लागिपरेको बताए । उनले सञ्चार पहुँच प्रत्येक नागरिकको अधिकार रहेको बताउँदै सबै जिल्लामा समान सेवा सुनिश्चित गर्न टेलिकमलाई निर्देशन दिए ।
सुदूरपश्चिम प्रदेशको बिकट हिमाली जिल्ला बाजुराको बुढीनन्द गाउँपालिकामा फोरजी इन्टरनेट सेवा सुरु भएको छ । बुढीनन्दका विभिन्न वडामात्र नभई मार्तडी–कोल्टी मार्ग र आसपासका बस्तीमा पनि इन्टरनेट तथा मोबाइल सञ्जालमा सुधार आएको स्थानीयहरूले बताएका छन् ।
यसअघि यस क्षेत्रमा भ्वाइस र डेटा सेवा घाम लागेको बेलामात्र चल्ने गरेको गुनासो स्थानीयले गर्दै आएका थिए । नयाँ टावर सञ्चालनमा आएपछि अब आपतकालीन सम्पर्क, अनलाइन कारोबार र पारिवारिक सन्देश आदानप्रदान सहज भएको छ ।
