गण्डकीमा पर्यटन र सामाजिक विकास कार्यालयले एकिकृत सेवा दिन थाले
टुरिजमफेस
बागलुङ । गण्डकी प्रदेश सरकार अन्तर्गतका दुई कार्यालयले बागलुङ सदरमुकामबाट एकिकृत सेवा दिन थालेका छन् । प्रदेश सरकारको निर्णय बमोजिम दुई कार्यालय एकै ठाउँमा गाभिएर एकिकृत सेवा कार्यालयको रुपमा सञ्चालन गरिएको छ ।
प्रदेश सरकार मातहतमा रहेको उद्योग तथा पर्यटन कार्यालय र सामाजिक विकास कार्यालय गाभिएपश्चात एकिकृत रुपमा सेवा कार्यालयको रुपमा सञ्चालन गरिएको छ । एकिकृत कार्यालय साविकको उद्योग पर्यटन कार्यालयबाट सञ्चालन गरिएको कार्यालय प्रमुख पारसिंङ थापाले जानकारी दिए ।
कार्यालयको बुधबार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक शुभारम्भ गरेका थिए । गुरुङले सेवा लिन आएका सेवाग्राहीको उद्योग दर्ता तथा नविकरणको सिफारिस प्रदान गरेर सेवा सञ्चालन गरेका थिए । प्रदेश सरकारले मितव्ययीता कायम र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका निम्ती कार्यालय गाभेर एकिकृत गरेको हो ।
एकिकृत सेवा कार्यालयले उद्योग, पर्यटन तर्फ दर्ता नविकरण, तालिम सञ्चालन पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माण लगायतका कार्य गर्ने छ भने सामाजिक विकास तर्फबाट लक्षित वर्गका कार्यक्रम सञ्चालन र विद्यालय तथा मठमन्दिर लगायतका क्षेत्रको पूर्वाधार निर्माणका काम हुनेछन् ।
हाल साविकको उद्योग पर्यटन कार्यालयबाट मुख्य कामकाज सञ्चालन गरिएता पनि साविकको सामाजिक विकास कार्यालयमा सामाजिक विकास तथा शिक्षा शाखा सञ्चालन गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।
