सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
दिपक चन्द
भद्रपुर (झापा) । ‘छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौं,’ फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, ‘आज मन्दिरमा पूजा गरेर आएको हुँ मम्मी । हजुर बिरामी परिरहनुहुन्छ नि, त्यसकै लागि पूजा गरेको हुँ ।’
यो छोटो संवाद झापाको भद्रपुर नगरपालिका–३ गोलेचोकका २० वर्षीय सविन विश्वकर्मा र उनकी आमा लालमाया विश्वकर्मा बीच भएको अन्तिम कुराकानी थियो ।
आमाको स्वास्थ्यलाभको कामनासहित मन्दिरमा पूजा गरेर फर्किएका सविनको त्यो हँसिलो अनुहार परिवारका लागि सम्झनाको तस्बिर मात्र बनेको छ ।
गत साताको शनिबार भारतको उत्तरी गोवास्थित एक नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीले सविनको जीवनसँगै उनका सपना, योजना र परिवारका आशा सबै निभाइदियो ।
उक्त आगलागीमा पाँच जना नेपालीसहित २५ जनाको ज्यान गएको थियो । सोही नाइटक्लबमा सेफका रूपमा कार्यरत सविन निसास्सिएर ज्यान गुमाउनेमध्ये एक थिए । सविनको मृत्युको खबर परिवारका लागि अकल्पनीय थियो ।
टीकाराम र लालमायाका जेठा छोरा सविनले झापामै होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गरेका थिए । सानैदेखि आत्मनिर्भर बन्ने सोच राख्ने सविन पढाइमा मात्र होइन, कामप्रति पनि उत्तिकै जिम्मेवार थिए ।
डिप्लोमा सकेपछि उनले भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित एक होटलमा ६ महिना ‘इन्टर्नसिप’ गरेका थिए । त्यसपछि केही समय झापाकै विभिन्न होटलमा तीन–चार महिना काम गरे । ‘छोराले जे काम गरे पनि मन लगाएर गथ्र्याे,’ आमा लालमाया सम्झिन्छिन्, ‘सानो उमेरमै परिवारको चिन्ता लिन थालेको थियो ।’
त्यसपछि सविन ठूलीआमा (लालमायाको काकाकी छोरी) सँगै गोवाको एक होटलमा कामका लागि पुगे । केही समयपछि हाल कार्यरत नाइटक्लबमा सेफका रूपमा प्रवेश गरेका उनी ६ महिनादेखि त्यहीँ कार्यरत थिए । कामको वातावरण, तलब र भविष्यप्रति उनी सन्तुष्ट थिए ।
घटनाको दिन भद्रपुरबाट गरिएको मेसेन्जर ग्रुपकलमा सविनकी हजुरआमा पनि जोडिएकी थिइन् । ‘म काममा व्यस्त थिएँ,’ लालमायाले भनिन्, ‘छोरालाई काम सकेर कोठामा पुगेर फेरि कल गर्छु, हजुरआमासँग कुरा गर्दै गर भनेँ ।’
एक घण्टापछि कोठामा पुगेपछि लालमायाले छोरालाई फोन गरिन् । तर कल उठेन । ‘काममै व्यस्त होला भन्ने लाग्यो,’ उनले भनिन्, ‘तर सधैं बिहान सबेरै उठेर कल गर्ने छोराको फोन आएन । बरु भारतको सिलिगुडीबाट छोरा काम गर्ने ठाउँमा भएको आगलागीको खबर आफन्तले सुनाए । त्यो क्षण त खुट्टामुनिको जमिनै भासिएजस्तो भयो ।’ सविन काम गरिरहेको नाइटक्लबमा भएको आगलागीले केही मिनेटमै भयावहरूप लिएको थियो । उद्धार प्रयास भए पनि भित्र फसेकाहरू निसास्सिन पुगे ।
‘त्यहाँ काम गर्दा मेरो छोरा निकै खुसी थियो,’ लालमायाले भनिन्, ‘तलब पनि राम्रै थियो, नियमित खर्च पठाइरहेकै थियो ।’ सविनका बुबा टीकाराम १८ वर्षदेखि वैदेशिक रोजगारीमा साउदी अरब, युएई हुँदै दुई वर्षदेखि मलेसियामा कार्यरत थिए । आमा लालमाया पनि चार वर्षदेखि कुवेतमा काम गर्दै आएकी थिइन् । दुवै जना छोराको शव घर आइपुगेकै दिन उनीहरू पनि नेपाल फर्किएका छन् ।
सविनको कामप्रतिको इमानदारी देखेर नाइटक्लबका सञ्चालक पनि सन्तुष्ट थिए । ‘उसलाई अन्त जान नदिई यहीँ राख्ने सोच बनाएका रहेछन्,’ टीकारामले भने, ‘हामीसँग कुरा गर्दा पनि कहिल्यै काम गाह्रो भयो, दुःख छ भनेन, बरु साहुँले माया गर्नुहुन्छ भन्थ्यो ।’
सविनको निधनले परिवार मात्र होइन, सिङ्गो गाउँ शोकमा डुबेको छ । उनीहरूका नौ वर्षीया छोरी र चार वर्षका छोरा भद्रपुरमै हजुरआमाको रेखदेखमा छन् । भारत सरकारले मृतक परिवारलाई दुई लाख भारतीय रूपैयाँ र गोवा राज्य सरकारले पाँच लाख भारतीय रूपैयाँ राहत दिने निर्णय गरेको छ । त्यसका लागि आवश्यक कागजात पठाउने प्रक्रिया भइरहेको सविनका दाजु सन्देश विश्वकर्मा (मामाको छोरा) ले जानकारी दिए । ‘गोवा राज्य सरकारले नै शव जहाजमार्फत पश्चिम बङ्गालको बागडोरा विमानस्थल ल्यायो,’ उनले भने, ‘त्यहाँबाट एम्बुलेन्समार्फत सिधै घरसम्म ल्याइदियो ।’
गत शनिबार गोवाको एक नाइटक्लबमा भएको आगलागीमा ५ नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार घटनामा झापा भद्रपुरका सविन विश्वकर्मासहित दाङ घोराहीका चूर्णबहादुर पुन, सिन्धुली दुधौलीका लीलबहादुर कटवाल (विवेक क्षेत्री), डडेलधुराका मनोज जोरा र झापा कचनकवल–२ का सुदीप गुरुङको मृत्यु भएको थियो ।
