राजधानीमै छैन पर्यटक बसपार्क
टुरिजमफेस
काठमाडौं । संघीय राजधानी काठमाडौंमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा त्यस्ता गाडीलाई समस्या भएको छ । पर्यटक बसका लागि व्यवस्थित पार्क नहुँदा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकछेउमा पार्क गर्नुपर्ने अवस्था छ ।
तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि २०७५ असार १६ गतेदेखि सोह्रखुट्टेको सडकमा सारिएको थियो । महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भिडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो ।
हाल पर्यटक बस काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि करिब एक सय बस सञ्चालन हुँदै आएका छन् । ती सवारीसाधनले दैनिक तीन हजारको हाराहारी स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् ।
सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिबान) का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बसलाई उपेक्षा गरेको बताउँछन् ।
‘सरकारले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई उकास्ने भनिरहेको छ, तर पर्यटक बसका लागि पार्किङ गर्न छुट्टै पार्क नहुँदा समस्या परेको छ,’ उनले भने । राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको भए पनि नेपालमा भने विकास नगरेको उनले बताए ।
सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष न्यौपानेले माग गरे ।
टिबानका पूर्वध्यक्ष एवं बाबा एड्भेञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनी पर्यटक बसको बसपार्क निर्माणका लागि टिबानले पहिलेदेखि नै सम्बन्धित निकायमा झकझक्याउँदै आए पनि हालसम्म बसपार्क निर्माण हुन नसकेको बताउँछन् । सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिएको उनको भनाइ छ ।
व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।
