पर्यटन प्रवर्द्धनका लागि इलामबाट ‘पदयात्रा’
टुरिजमफेस
इलाम । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो ।
सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका र रणशार्दुल गणले संयुक्त रूपमा पदयात्राको तयारी गरेका सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । गत वर्षदेखि सुरु गरिएको पदयात्रा यसपटक पनि निरन्तरता दिन लागिएको उनको भनाइ छ ।
“करिब २०० वर्षअघिको युद्ध इतिहास खोजी गर्दै निर्माण गरिएको निसान पदमार्गमा गत वर्षदेखि पदयात्रा सुरु गरेका थियौँ”, नगरप्रमुख राईले भने, “सरोकार भएका निकायबाट सकरात्मक प्रतिक्रिया आएको थियो । यसपटक पनि त्यसलाई निरन्तरता दिन लागेका हौँ ।”
इलाम नगरप्रमुख केदार थापाले पदयात्राले निसान पदमार्गको मात्र नभई, समग्र इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको बताए । “पदयात्राले निसान पदमार्गको संरक्षणमा योगदान दिनका साथै समग्रमा इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउनेछ”, उनले भने ।
पदयात्राका लागि तीनवटै पालिकाबाट आर्थिक सहकार्य हुने इलाम नगरप्रमुख केदार थापाले बताउनुभयो । कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ लाई जोडेर पदयात्रा कार्यक्रम आयोजना गरिने उनले उल्लेख गरे । पदयात्रामा मेची पर्यटन कार्यालयको सहकार्य हुने उनले बताए ।
नेपाल–भारत सीमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने रणशार्दुल गणका प्रमुख प्रह्लाद घलेले जानकारी दिए । उनका अनुसार तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धीपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।
चार दिनको पदयात्रा नेपाल–भारत सीमाक्षत्रेको मेची बजारबाट औपचारिक थालनी हुनेछ । पुस २६ गतेसम्म नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालको २०० जनाको टोलीले पदयात्रा गर्ने घलेले जानकारी दिए ।
पदमार्गअन्तर्गत पर्ने सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जाजातिको झाँकीसहित स्वागतका कार्यक्रम तय गरिएको घलेले बताए । पदयात्राका लागि तीनवटै पालिकाको विभिन्न ठाउँमा हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम साथै कार्यपत्रमाथि छलफललगायत कार्यक्रम हुनेछन् ।
रणशार्दुल गणको पहलमा २०८१ देखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो । त्यसका लागि सूर्योदय नगरपालिका, माईजोमगाई गाउँपालिका र इलाम नगरपालिकाले सहयोग गरेको थियो ।
