अर्थतन्त्र सुधारका लागि पर्यटन र कृषिमा लगानी आवश्यक, के बैंकहरू त्यही बाटोमा छन् ?
टुरिजमफेस
काठमाडौं । लामो समयदेखि जकडिएर बसेको नेपाली अर्थतन्त्र सुधारका लागि आन्तरिक रूपमा जेजस्तो स्रोत छ, त्यसमै जोड दिएर लगानी वृद्धि गर्नुपर्ने विभिन्न अध्ययनले देखाउँदै आए पनि त्यसो हुन नसकिरहेको बेला पुनः उत्पादन वृद्धिमा लगानी गर्नुपर्ने औंल्याइएको छ ।
यसका लागि नेपालसँग पर्याप्त स्रोत रहेको पर्यटन, कृषि तथा जलविद्युतका क्षेत्रमा लगानी गर्नुपर्ने औंल्याएको हो । नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा राष्ट्र बैंकको नियमन विभागका प्रमुख रामु पौडेल, बैंक सुपरिवेक्षण विभागका प्रमुख दीर्घ रावल र आर्थिक अनुसन्धान विभागका प्रमुख डा. रामशरण खरेलले आ–प्रस्तुति दिए ।
प्रस्तुतिमा साना व्यवसायी र कृषि क्षेत्रको लगानीमा सहजता गर्नुपर्नेमा जोड दिइएको छ । बैंकहरूका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारी सहभागी छलफलमा बोल्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि तथा साना–मझौला व्यवसायीमा लगानी बढाउने गरी कर्जाका योजना आवश्यक रहेको बताए । कृषि र साना व्यवसायमा लगानी विस्तारबिना अर्थतन्त्र फस्टाउन नसक्ने उनीहरूको निष्कर्ष छ । अहिलेसम्म भने बैंकको लगानी र स्थानीय आवश्यकताको तारतम्य मिल्न नसक्दा अनेक समस्या आइरहेको औंल्याइएको छ ।

गभर्नर पौडेलले स्थानीय स्तरका उद्यम तथा कृषि कर्जामा लगानी गर्नेबित्तिकै किस्ता तिर्नुपर्ने अहिलेको नीति र व्यवहारले ठीक नभएको बताए । ‘व्यवसायको प्रकृति हेरी उत्पादन सुरु हुन लाग्ने समयको आधारमा किस्ता भुक्तानी तालिका बनाउन आवश्यक छ,’ उनले भने । उनले साना व्यवसायीलाई अवसर नदिई अर्थतन्त्र अगाडि बढ्न सक्दैन भन्ने कुरालाई सबैले बुझ्नु पर्ने बताए ।
छलफलमा सहभागी बैंकरहरूले भने देशमा काम गर्ने वातावरण राम्रो नभएको, कर्मचारी माथि सुरक्षा नभएको जस्ता गुनासा राखेका थिए ।
