पर्यटनसँग जोड्ने उद्देश्यले धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय सरकार
टुरिजमफेस
भोजपुर । भोजपुर नगरपालिका- ९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्ख्यामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले ती सम्पदाको दीगो संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने लक्ष्यका साथ वडा कार्यालयले योजनाबद्ध पहल थालेको हो ।
स्थानीय संस्कार, संस्कृति र पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्दै धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले ऐतिहासिक तथा धार्मिक क्षेत्रको पूर्वाधार विकासमा निरन्तर काम भइरहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार वडाभित्र रहेको भोजपुरकै प्रसिद्ध शिद्धकाली मन्दिर, बज्रयोगिनी मन्दिर, कैलाश डाँडा, पेमा छ्योलिङ बौद्ध गुम्बा तथा हिमालयण महायानी विश्व शान्ति बौद्ध गुम्बालगायतका धार्मिक स्थलको संरक्षण तथा विकासका लागि वडाले आन्तरिक बजेट विनियोजन गरी आवश्यक सहयोग गर्दै आएको छ । सदरमुकामसँग प्रत्यक्ष जोडिएको वडा भएकाले यहाँका धार्मिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिइएको उनको भनाइ छ ।
“हाम्रो वडामा धेरै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका छन्,” वडाध्यक्ष तामाङले भने, “यी सम्पदालाई धार्मिक पर्यटनसँग जोडेर स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने हाम्रो लक्ष्य हो । वडाको क्षमताअनुसार बजेट व्यवस्थापन गरेर क्रमशः आवश्यक पूर्वाधार निर्माण र संरक्षणको काम गरिरहेका छौँ ।”
त्यससँगै स्थानीय परम्परा र संस्कृति जगेर्नाका लागि बस्नेत समुदायको देवालीथान संरक्षण, भोजन कृतनस्थल निर्माण, शेर्पा तथा तामाङ समुदायका लागि समाधिस्थल संरक्षणलगायतका कार्यसमेत सम्पन्न गरिएको छ । सबै जातजाति र समुदायको अपनत्व हुने गरी वडास्तरबाट सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन भइरहेको वडाध्यक्ष तामाङले बताए ।
वडाले धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणसँगै प्रचार-प्रसारलाई प्राथमिकतामा राखेको जनाएको छ । यी सम्पदाको व्यवस्थित संरक्षण र प्रवर्द्धनसँगै धार्मिक पर्यटनको विकास हुने र त्यसले स्थानीय रोजगारी तथा आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा वडाले लिएको छ ।
