धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह
टुरिजमफेस
गण्डकी । हिन्दू धर्मग्रन्थमा उत्तरतर्फ बगेका नदीलाई महातीर्थका रुपमा लिने गरिएको छ । संसारमा समान्यतः उत्तरतर्फ बगेका नदी निकै कम रहेका छन् । तिनै दुर्लभ उत्तरबाहिनी नदीमध्येमा बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा नदीलाई लिइन्छ । यिनै उत्तरबाहिनी गङ्गाको मुहानमा रहेको उत्तरगङ्गा ढोरबराह यस क्षेत्रकै महत्वपूर्ण तीर्थका रुपमा चासो र चर्चा कमाएको छ ।
उत्तरगङ्गा धामका रुपमासमेत चिनिएको यो तीर्थस्थलमा विशेषतः जनैपूर्णिमा र वैशाख शुल्क पूर्णिमा दिन विशेष मेला लाग्ने गरेको मन्दिरका पूजारी चामबहादुर बुढाले जानकारी दिए । उत्तरतर्फ भई बग्ने उत्तरगङ्गा नदीको मुहान नै उत्तरगङ्गा ढोरबराह भएको जानकारी दिँदै उनले यहाँ आएर दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेको बताए ।
यस स्थलमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमाका दिन मेला भर्न बागलुङसहित पर्वत, म्याग्दीलगायत जिल्लाका साथै कास्की, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थीहरू आउने गरेका छन् । मेलाका अवसरमा भक्तजनले भेडाको बलिसहित पूजाआजा गर्दै आएको उनले जानकारी दिए । मेलामा सहभागी बन्नका लागि आउने भक्तजनले ढोरबराहमा पूजा गर्नुअघि यहाँ आउने बाटोमा रहेको रुद्रावती गङ्गाको उद्गमस्थल रुद्रतालमा स्नान एवम् पूजा गर्दै ढोरपाटन देउरालीमा पाती चढाएर जाने प्रचलन छ ।
यहाँ बर माग्ने पनि अनौठो मौलिक परम्परा छ । उत्तरगङ्गा ढोरबराहमा बर माग्न आउनेहरू सबैभन्दा पहिले रुद्रतालमा र त्यसपछि देउराली भञ्ज्याङमा रहेको देउराली थानमा धजा चढाउने गर्दछन् । त्यहाँबाट आएर यहाँका बाइस धारामा नुहाएर बराह मूलमा गएर बत्ती बालेर फूलपाती, अक्षताले भगवान शिवको बाहन बहरे गोरुलाई पूजा गरी २२ वटा ध्वजा चढाउँछन् । “यहाँ आएर दर्शन गरेमा सन्तान नभएकालाई सन्तान प्राप्त हुने, नबोलेका बच्चा बोल्ने आदि विश्वास रहेको छ”, उनले भने, “रोजगारी प्राप्ति, राम्रो स्वास्थ्य आदिको कामना गर्दै पनि यहाँ दर्शनार्थी आउने गरेका छन् ।”
पूजा गर्ने क्रममा बराहमूलको कुण्डमा बुलबुल गरेर पानीका फोका उठेमा राम्रो भएको मानिने फोका नउठेमा ग्रहदशा बिग्रेको मानिने जनविश्वास छ । ढोरबराह मन्दिरमा रहेका बाइस धारा कहिल्यै पनि नसुक्नु यहाँको अर्को विशष्टिता हो। बाइस धारामा स्नानसहित पूजाआजा गर्ने र धाराको जल घरमा लगेर छर्केमा विभिन्न किसिमका अनिष्टबाट मुक्त हुने जनविश्वास रहेको पूजारी बुढाले जानकारी दिए । कतिपयले आफन्तको स्वर्गारोहण भएमा जन्मकुण्डली उत्तरगङ्गामा बगाउने प्रचलन पनि रहेको बुढापाकाहरु बताउँछन् ।
पछिल्लो समयमा ढोरपाटनसम्म आउने बाटो सहज बन्दै गएपछि टाढाटाढाबाट दर्शनार्थीहरू आउने क्रम बढ्दै गएको उत्तरगङ्गा ढोरबराह संरक्षण समितिका पूर्व सदस्य रामबहादुर घर्ती मगरले जानकारी दिए । पछिल्ला दुुई तीन वर्षयता दर्शनार्थी तथा पर्यटक आउने क्रम बढिरहेको बताउँदै उनले स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको जानकारी दिए । “दर्शनार्थीसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि आउन थालेपछि यहाँका स्थानीयले पर्यटक लक्षित होटेल तथा घरबासका लागि पनि लगानी बढाउँदै गएका छन्”, ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालकसमेत रहेका मगरले भने, “पर्यटकीय चहलपहलले स्थानीयवासीको उत्पादन खपत हुनुका साथै यसले विभिन्न किसिमका रोजगारीसमेत सिर्जना गरेको छ ।”
नेपालको एक मात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन शिकार आरक्षभित्र रहेका कारण पनि यो पर्यटकीय रुपमा अर्को आकर्षण हो । ठूलो उपत्यकाको दक्षिणतर्फ अवस्थित सुर्तिवाङ पहाडको उत्तरतर्फबाट उत्तरगङ्गाको र दक्षिणपट्टी रहेको रुद्रतालबाट रुद्रवतीगङ्गाको उत्पत्ति भएका कारण समग्र यस क्षेत्रको धार्मिक महत्व रहेको छ । रुद्रतालमा सतिदेवीको रुद्र अर्थात घाँटी पतन भएको हुँदा रुद्रतालबाट जलप्रवाह भएर रुद्रबतीगङ्गा, बडिगाड खोलाहुँदै कालीगण्डकीमा मिसिएको ठाउँलाई रुद्रवेणी अर्थात् रुरुक्षेत्रका रुपमा लिने गरिएको अर्का स्थानीय बेगबहादुर विकले जानकारी दिए ।
सुर्तिवाङ पहाडको देउराली भञ्ज्याङमा रहेको ठाडो ढुङ्गामा साउनको पहिलो हप्ता गाईको दूधले धार दिएपछि मात्रै बर्खाको समयमा सुर्तिवाङ्मा चरनको लागि लगेका गोठमा खिर, कुराउनी र ताईरोटी पकाउने प्रचलन रहेको स्थानीयवासी बताउँछन् । उत्तरगङ्गा ढोरबराहमा यहाँको पूजाआजाको व्यवस्थापनका लागि प्रत्येक वर्ष बोलपत्र आह्वान गर्ने गरेको उत्तरगङ्गा ढोरबराह संरक्षण समितिका पूर्व सदस्य घर्तीले जानकारी दिए ।
पूजाका लागि जिम्मा पाएको व्यक्तिले मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीले चढाउने भेटीघाटीका साथै भेडाको बलि दिने क्रममा टाउँको बिक्रीबाट आम्दानी गर्ने गर्दछन् । सामान्यतः जनैपूर्णिमाका दिन एक हजारभन्दा बढी भेडाको बलि हुने गर्दछ भने वैशाख पूर्णिमामा पाँच सय भन्दा बढी भेडाको बलि हुने गर्दछ । अघिपछि पनि विभिन्न तिथि पारेर भाकलसहित पूजाआजा गर्न दर्शनार्थी आउने गर्दछन् ।
मालपोत कार्यालयले प्रत्येक वर्ष जेठको १५ गतेदेखि ३० गतेसम्म समयावधि तोकेर बढाबढका लागि सूचना निकाल्ने गरेको उनले जानकारी दिए । अघिल्लो वर्षमा बढाबढका क्रममा रु १२ लाखको बोलपत्र स्वीकृत भएको थियो । मन्दिरको संरक्षणसँगै पछिल्ला समयमा यहाँको भौतिक पूर्वाधार विकासका लागि पनि राज्यको चासो बढेको उनले जानकारी दिए । मन्दिर परिसरमा जलकुण्डसहित पार्क निर्माणका साथै पाटनका ठाउँठाउँमा परम्परागत शैलीका पुल निर्माण भइरहेको उनले बताए ।
