धार्मिक पर्यटकीयस्थल थानीमाईमा पूर्वाधार निर्माण
टुरिजमफेस
तनहुँ । जिल्लाको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर आउने भक्तजनको सहजताका लागि भवन र ट्रस निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र मन्दिर व्यवस्थापन समितिको आन्तरिक कोषबाट भक्तजनको सहजताका लागि यहाँ भवन र ट्रस निर्माण गरिएको हो ।
गण्डकी प्रदेश सरकारको रु २० लाखमा ट्रस निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए । त्यस्तै कोषबाट रु २८ लाखको लागतमा बनेको भवनमाथि ट्रस थप रिएको उनले बताए । उनका अनुसार ट्रस निर्माणसँगै मन्दिरमा रातभर जाग्राम बसेर बत्ती बाल्ने भक्तजनलाई सहज हुनेछ ।
समितिका अध्यक्ष थापाले भने, “मङ्गलबार फूलको डोली चढाउने र त्यसको अघिल्लो रात सोमबार यहाँ जाग्राम बसेर बत्ती बाल्ने प्रचलन छ । रातिको समयमा बस्न सहज होस् भनेर ट्रस हालेका छौँ । अब एकैपटक २०० भन्दा बढी भक्तजनले यहाँ बसेर बत्ती बाल्न सक्नेछन् ।”
आठ कोठे भवनको छ वटा कोठामा समितिको निर्णयअनुसार सहुलियत दरमा रातिका लागि वा अन्य समयमा बास बस्न चाहनेलाई उपलब्ध गराइने थापाले जानकारी दिए ।
