‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक विदा
टुरिजमफेस
काठमाडौं । क्रिश्चियन धर्मावलम्बीहरूले बिहीबार ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म यसराइलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए ।
उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका उनले बताए ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उनले बताए । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएको छ ।
कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए। दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो ।
विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ । पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ ।
विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ । महासंघको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।
