चितवन निकुञ्जमा पहिलो भागको बाघ गणना सकियो
टुरिजमफेस
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा यही पुस ३ गतेदेखि सुरु भएको बाघ गणना जारी रहेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ भने पहिलो भागको गणना भने सकिएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पहिलो भागको गणना सकेर क्यामेरा उठाउने काम सुरु गरिएको छ । उनले भने, “शनिबारदेखि क्यामेरा उठाउने काम सुरु भएको छ । सोमबारसम्ममा पहिलो भागको क्यामेरा उठाउने काम सम्पन्न हुन्छ ।” उनका अनुसार यही पुस १ र २ गते तालिम दिएका १५० जना गणकहरू गणनामा खटिएका छन् ।
त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको सूचना अधिकारी मगरले जानकारी दिए । उनका अनुसार पहिलो भागअन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिएको छ । क्यामेरा उठाएपछि दोस्रो भागमा क्यामेरा जडान गरी गणना सुरु गरिने छ ।
दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणकहरू खटिने निकुञ्जका सूचना अधिकारी मगरले बताए । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिने छ ।
“सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिने छ”, उनले भने, “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।” थापाका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ ।
