केही महिना अझै सरदरभन्दा वर्षा कम हुने
टुरिजमफेस
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो । आउँदा दिनमा पनि कम वर्षाको आकलन गरिएको उहाँनले बताए ।
यही पुस १७ गतेदेखि फागुन १६ गतेको दुई महिना अवधिमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने बताउँदै उनले सुदूरपश्चिम, कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरे ।
कायस्थका अनुसार सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका पश्चिमी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
सुदूरपश्चिमका दक्षिण–पश्चिमी भूभाग, कर्णालीका मध्य भूभाग, लुम्बिनीका उत्तरी भूभाग, गण्डकीका मध्य भूभाग, बागमतीका मध्य भूभाग, मधेसका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य तथा दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको उनले जानकारी दिए ।
