‘पर्यटन प्रवर्द्धन गर्न निसान पदमार्ग’मा पुस २३ देखि २६ गतेसम्म पदयात्रा
Ilam tourism
टुरिजमफेस
इलाम । पर्यटन प्रवर्द्धन गर्न गत वर्षबाट सुरुआत गरिएको ‘निसान पदमार्ग’ मा यस वर्ष यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा आयोजना गरिने भएको छ ।
पुस २३ गते सूर्योदय नगरपालिका–४ मेचीबजारबाट सुरु हुने पदयात्रा पुर्णेडाँडा, सुन्तले, माईजोगमाई गाउँपालिकाको हात्तीटार, माइबेनी हुँदै २६ गते इलाम नरपालिकाको माईस्थानमा समापन गरिने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।
एकचालीस किलोमिटर उक्त पदमार्गमा तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ ।
नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने गणपति प्रह्लाद घलेले जानकारी दिए । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।
नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोलीले पदयात्रामा सहभागी हुने माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताए ।
यही पुस २६ गतेसम्म जारी हुने पदयात्राका लागि स्थानीयले ठाउँठाउँमा स्वागतको तयारी गरेका छन् । पदमार्गअन्तर्गत पर्ने सूर्योदय, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जाजातिको झाँकीसहित स्वागत गर्ने तयारी छ । रणशार्दूल गणको पहलमा दुई वर्षअघिदेखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो । यसका लागि ती पालिकाले सेनालाई सहयोग गरेका थिए ।
सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएको हो । यसअघि भारतको नागरीगढीबाट नेपाल–भारत सीमाक्षेत्र सात माइल, मेची मुहान, सिद्धीखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईबेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको नक्सा तयारी गरी सार्वजनिक गरिएको थियो ।
निसान पदमार्गको पदयात्राले इलामको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।
Ilam tourism
