महाकालीको बगर : जहाँ श्रम नै जीवन हो
महेन्द्रनगर । हिउँद लागेसँगै महाकाली नदीको बगर फेरि एकपटक जीविकाको थलो बनेको छ। कञ्चनपुरका दर्जनौँ परिवारका लागि यही बगर रोजगारी, संघर्ष र आशाको केन्द्र बनेको हो। बिहान घाम नउदाउँदैदेखि साँझ ढल्दासम्म ढुंगा र बालुवा छान्दै दिन बिताउने दम्पतीहरू यहाँको दृश्य बनेका छन्।
लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी र उनकी श्रीमती पनि त्यही भीडमा छन्। मंसिरको दोस्रो सातादेखि उनीहरू भीमदत्त नगरपालिका–१२ स्थित महाकालीको बगरमै अस्थायी झोपडी बनाएर बसिरहेका छन्। चौधरी दम्पतीका लागि हिउँद भनेको गाउँ होइन, नदीको बगर हो।
“खेतीपाती हुने बेला गाउँमै हुन्छौं, तर हिउँद आयो कि बगर नआइ सुखै छैन,” भजौराले भने, “गरेर खाने बानी परेपछि ढुंगा–गिट्टीको दुःख गाह्रो लाग्दैन।”
चार वर्षयता उनीहरू हरेक हिउँद करिब छ महिना बगरमै बिताउँछन्। बिहानदेखि बेलुकासम्म छानिएको बालुवा र गिट्टी बिक्री गरेर मासिक २५–३० हजार रुपैयाँ जोहो हुने उनको भनाइ छ। “झोपडीमा बास भए पनि पेट पाल्न यही पसिना चाहिन्छ,” उनले थपे।
पारिवारिक जिम्मेवारीले वृद्ध उमेरमा पनि उनीहरूलाई श्रममै बाँधेको छ। “चार छोरी र तीन छोरा छन्,” भजौराले भने, “शरीरले साथ दिउञ्जेल अरुसँग हात फैलाउनु भन्दा आफैँ कमाएर खाने सोच छ।”
भजौरा चौधरी मात्र होइनन्, भीमदत्त नगरपालिका–१३ बडैपुरका खड्कसिंह भट्ट र उनकी श्रीमती पनि वर्षौँदेखि यही बगरको सहारामा छन्। “यहाँको दुःखले घरमा चुल्हो बल्छ,” भट्टले भने, “डेढ दशकदेखि यही संघर्षले जीवन धानिएको छ।”
उनका दुई छोरा रोजगारीका लागि भारतको बैंग्लोर गएका छन्। बगरमै छानिएको बालुवा प्रतिट्रली दुई हजार र गिट्टी तीन हजार रुपैयाँसम्ममा बिक्री हुने उनी बताउँछन्। “सामान्य मेहनतले यो काम हुँदैन,” भट्टको अनुभव छ।
महाकालीको तटीय क्षेत्र भुजेला, ओदाली, बडैपुर र पिपरियाका बस्तीका लागि बगर रोजगारीको परम्परागत गन्तव्यजस्तै बनेको छ। पहिले दलित र सोनाह समुदाय बढी देखिन्थे भने अहिले कञ्चनपुरका बेल्डाडी, बेलौरीदेखि कैलालीका नागरिकसमेत यहाँ आइपुगेका छन्।
भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराका अनुसार हाल सयौँ परिवार बगरमै आश्रित छन्। “मेरो वडामा मात्रै डेढ सयभन्दा बढी परिवार अहिले बालुवा र गिट्टी छानेर गुजारा गरिरहेका छन्,” उनले भने, “गरिबीको रेखामुनि रहेका नागरिकका लागि बगर नै जीवनरेखा बनेको छ।”
रोचक पक्ष के छ भने बगरको श्रममा विद्यार्थीहरू पनि देखिन्छन्। सिद्धनाथ माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा–९ की भूमिका धामी र कक्षा–१० की ललिता खत्री बिदाको समयमा बगरमा काम गरिरहेका भेटिए। “घर खर्च र आफ्ना लुगाफाटोका लागि सहयोग हुन्छ,” भूमिकाले भनिन्, “विद्यालयपछि बेलुकी पनि समय मिल्यो भने आइहाल्छौं।”
बर्सातमा नदी उर्लिएपछि काम ठप्प हुने भए पनि हिउँदमा महाकाली आसपासका बस्तीका लागि बगर नै रोजगारीको मुख्य आधार बन्छ। ट्र्याक्टरहरू बगरमै पुगेर बालुवा र गिट्टी लैजान्छन्, र यही कारोबारले सयौँ परिवारको दैनिकी चलेको छ।
दस वर्षदेखि यही काम गर्दै आएका मनोज साउँद भन्छन्, “हामी दम्पतीको दिनचर्या यही हो। एक सिजनमा डेढदेखि दुई लाखसम्म कमाइ हुन्छ।”
महाकालीको बगरमा छानिने बालुवा र गिट्टी मात्र होइन, यहाँ पसिना, संघर्ष र आत्मनिर्भर जीवनको कथा पनि बगिरहेको छ।
