निर्वाचनको चहलपहलबीच चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक सुरक्षामा विशेष जोड
चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणसँगै पर्यटक सुरक्षालाई केन्द्रमा राख्दै सतर्कता बढाएको छ । निर्वाचनका कारण निकुञ्ज आसपास नयाँ मानिसको आवतजावत बढ्ने भएकाले अवाञ्छित गतिविधि नियन्त्रण गर्नुका साथै पर्यटकलाई सुरक्षित र सहज वातावरण प्रदान गर्न सुरक्षा व्यवस्था कडा पारिएको हो ।
निकुञ्ज प्रशासनका अनुसार निर्वाचनको समयमा सुरक्षाकर्मीको ध्यान अन्यत्र मोडिन सक्ने जोखिमलाई मध्यनजर गर्दै पर्यटन गतिविधि प्रभावित नहोस् भन्ने उद्देश्यले विशेष गस्ती र निगरानी प्रणाली सक्रिय बनाइएको छ । सफारी, जंगल वाक, बोटिङ र होटल–लज क्षेत्रमा सुरक्षा उपस्थिति थप गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले निर्वाचनको माहोलमा पनि चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकले कुनै असहजता महसुस गर्न नपर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए । “पर्यटन चितवनको पहिचान हो, त्यसैले संरक्षण र पर्यटन दुवैलाई सन्तुलनमा राखेर काम गरिरहेका छौँ,” उनले भने ।
नेपाली सेना, निकुञ्ज सुरक्षाकर्मी र स्थानीय समुदायको सहकार्यमा कोर क्षेत्र, मध्यवर्ती क्षेत्र तथा पर्यटकीय रुटहरूमा नियमित गस्ती बढाइएको छ । यसले चोरी–सिकारी नियन्त्रण मात्र होइन, पर्यटकको सुरक्षामा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
९५२.६३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा २२ वटा मध्यवर्ती उपभोक्ता समिति, ५७ स्थायी र तीन अस्थायी पोष्ट सक्रिय छन् । सबै पोष्टलाई ‘हाइ अलर्ट’मा राख्दै कर्मचारी परिचालन गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
स्थानीय पर्यटन व्यवसायीहरू पनि निर्वाचनका कारण पर्यटन गतिविधि प्रभावित नहोस् भन्नेमा आशावादी छन् । पटिहानी क्षेत्रका पर्यटन व्यवसायी साजनकुमार महतोका अनुसार सुरक्षा सतर्कता बढाइएकाले पर्यटकको विश्वास कायम रहनेछ । “पर्यटकले सुरक्षित महसुस गरे भने निर्वाचनको समयमा पनि चितवनको आकर्षण घट्दैन,” उनले भने ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले निर्वाचनका बेला सबैको ध्यान राजनीतिक गतिविधितर्फ जाने हुँदा संरक्षण र पर्यटन दुवै क्षेत्रमा जोखिम हुन सक्ने बताए । त्यसलाई रोक्न पूर्वतयारीसहित काम गरिएको उनको भनाइ छ ।
निर्वाचनको चहलपहलबीच पनि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षित, जिम्मेवार र दिगो पर्यटनलाई निरन्तरता दिने प्रयासलाई प्राथमिकतामा राखेको छ ।
