सुरक्षित यात्रा तर्फ उपत्यका: पर्यटकमैत्री सवारीको नयाँ अध्याय
काठमाडौँ । पर्यटकका आँखामा काठमाडौँ उपत्यका केवल ऐतिहासिक सम्पदा र सांस्कृतिक विविधतामात्र होइन, यहाँको यातायात अनुभव पनि हो। यही अनुभवलाई सुरक्षित, भरपर्दो र विश्वासयोग्य बनाउने उद्देश्यसहित उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडानको काम सुरु गरिएको छ।
एक समारोहबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सार्वजनिक सवारीमा सीसी क्यामरा जडान अभियानको औपचारिक सुरुआत गरे। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार यातायात व्यवसायीसँगको छलफलपछि यो अभियानलाई तीव्र रूपमा अघि बढाइने छ।
पर्यटन सिजनमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने उपत्यकामा सार्वजनिक यातायात सुरक्षाको विषय बारम्बार उठ्दै आएको थियो। बसभित्र हुने दुर्व्यवहार, चोरी, कूटपिट तथा दुर्घटनापछि चालक फरार हुनेजस्ता घटनाले यात्रु मात्रै होइन, पर्यटकको छविमा समेत नकारात्मक असर पार्ने गरेको पृष्ठभूमिमा यो कदम चालिएको हो।
सीसी क्यामरासँगै ड्यासबोर्ड क्यामरा पनि जडान गरिँदैछ, जसले सवारीसाधनभित्रका गतिविधिमात्र होइन, बाहिरको ट्राफिक अवस्था पनि रेकर्ड गर्नेछ। दुर्घटना भएमा कसको कमजोरी हो भन्ने तथ्य प्रष्ट हुने भएकाले यसले न्यायिक प्रक्रिया सहज बनाउने र चालकलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।
पर्यटन विज्ञहरूका अनुसार सुरक्षित र अनुशासित यातायात प्रणाली पर्यटक गन्तव्यको महत्वपूर्ण सूचक हो। काठमाडौँ उपत्यकामा यस्तो प्रविधिको प्रयोग बढ्दै जानुले ‘सेफ ट्राभल डेस्टिनेसन’को छवि निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण तथा यात्रुमाथि हुने दुर्व्यवहार रोक्न सीसी क्यामरालाई प्रभावकारी उपकरणका रूपमा लिएको जनाएको छ। यसले दैनिक यात्रुका साथै काठमाडौँ घुम्न आउने हजारौँ पर्यटकलाई पनि थप सुरक्षित अनुभूति दिलाउने अपेक्षा गरिएको छ।
इतिहास र संस्कृतिले भरिएको उपत्यकामा अब यात्राको अनुभूति पनि क्रमशः सुरक्षित र आधुनिक बन्दै गएको संकेतका रूपमा यो अभियानलाई हेरिएको छ।
