अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने ११० अभिकर्ता सम्मानित, नेपाल लाइफको एमडीआरटी अवार्ड सम्पन्न
काठमाडौँ । जीवन बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई सम्मान गर्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीनदिने ‘एमडीआरटी अचिभर्स अवार्ड’ कार्यक्रम आयोजना गरेको छ। माघ १३ देखि १५ गतेसम्म चलेको कार्यक्रममा अन्तर्राष्ट्रिय एमडीआरटी मापदण्ड पूरा गर्न सफल ११० जना अभिकर्तालाई सम्मान गरिएको हो।
सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको मूल्यांकनका आधारमा ‘एमडीआरटी २०२६’ का लागि योग्य ठहरिएका अभिकर्तालाई कम्पनीले विशेष सम्मान प्रदान गरेको हो। कार्यक्रमका अवसरमा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गर्नु आफैँमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै सम्मानित अभिकर्तालाई बधाई ज्ञापन गरे। उनले यस्ता उपलब्धिले अभिकर्तालाई विश्वस्तरीय अभ्यास र अनुभव लिन थप प्रेरणा मिल्ने बताए।
अग्रवालका अनुसार एमडीआरटीजस्ता अन्तर्राष्ट्रिय संस्थासँगको आबद्धताले बीमा क्षेत्रमा विश्वव्यापी अभ्यासबारे जानकारी लिन सहयोग पुर्याउने मात्र होइन, नेपालमा बीमासम्बन्धी नीति र व्यवसायिक संस्कार विकासमा पनि योगदान पुर्याउँछ।
कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले देशको जीवन बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको उल्लेख गर्दै आगामी दिनमा बीमाको पहुँच आम नागरिकसम्म पुर्याउने लक्ष्यका साथ अघि बढ्ने बताए। उनले अभिकर्ता सञ्जाललाई अझ सक्षम बनाउँदै कम्पनीको बजार उपस्थितिलाई थप सुदृढ बनाइने बताए।
कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले आगामी वर्ष अझ धेरै अभिकर्तालाई एमडीआरटीको अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने लक्ष्यसहित नेपाल लाइफ अघि बढिरहेको जानकारी दिए। उनले निरन्तर तालिम, प्रेरणा र व्यावसायिक विकासमार्फत अभिकर्ताको क्षमता अभिवृद्धिमा जोड दिइएको बताए।
पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ता दक्षता र व्यावसायिकताका हिसाबले अग्रणी रहेको टिप्पणी गरे। त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले अभिकर्ता र बीमितको हकहितलाई केन्द्रमा राखेर कम्पनीले चालेका कदमको प्रशंसा गरे।
सम्मान समारोहसँगै सांस्कृतिक प्रस्तुतिले पनि कार्यक्रमलाई रंगीन बनाएको थियो। तीनदिने कार्यक्रममा गायक अस्मिता अधिकारी, महेश काफ्ले र बद्री पंगेनीको सांगीतिक प्रस्तुति तथा कमेडियन सुबोध गौतम र प्रभात लामाको हास्य प्रस्तुति प्रस्तुत गरिएको थियो।
