नेपाल पर्यटन बोर्ड र वाकायामा प्रिफेक्चर बीच दिगो पर्यटन प्रवर्द्धनमा सहकार्य
काठमाडौं । नेपाल–जापान पर्यटन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नेपाल पर्यटन बोर्ड र वाकायामा प्रिफेक्चर बीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर सम्पन्न भएको छ ।
भृकुटीमण्डपस्थित बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले दिगो पर्यटन, संयुक्त प्रवर्द्धन र अनुभव आदान–प्रदानमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाए । समझदारीअनुसार पर्यटन बजार प्रवर्द्धन, सूचना तथा उत्कृष्ट अभ्यास आदान–प्रदान, प्राविधिक तथा विज्ञ टोलीको भ्रमण, सञ्चार सहकार्य तथा सांस्कृतिक संवेदनशीलतामा आधारित पर्यटन विकासमा जोड दिइनेछ ।
समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र वाकायामाका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले जापानबाट आएको उच्चस्तरीय टोलीको भ्रमणलाई स्वागत गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको सन्दर्भमा यो सहकार्यले जिम्मेवार र दिगो पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध स्मरण गर्दै बजार विविधीकरण र पर्यटन विस्तारका लागि यो समझदारी समयानुकूल कदम भएको धारणा राखे । नेपाल हिमालयको देश तथा भगवान् बुद्धको जन्मस्थल भएकाले जापानी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने उनले उल्लेख गरे ।
गभर्नर मियाजाकीले सांस्कृतिक र ऐतिहासिक दृष्टिले सम्पन्न नेपालसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यसबाट दुवै क्षेत्रबीचको पर्यटन आदान–प्रदान अझ सशक्त हुने अपेक्षा व्यक्त गरे ।
सीईओ जोशीका अनुसार जापान नेपालका महत्वपूर्ण स्रोत बजारमध्ये एक हो र पछिल्लो अवधिमा जापानी पर्यटक आगमनमा करिब आठ प्रतिशत वृद्धि देखिएको छ ।
समझदारी हस्ताक्षर भएको मितिबाट लागू हुने र आपसी सहमतिका आधारमा कार्यान्वयन गरिने जनाइएको छ । गतिविधिको समन्वयका लागि दुवै पक्षले सम्पर्क विन्दु तोक्नेछन् भने खर्च सम्बन्धित पक्षले आफैं व्यहोर्ने व्यवस्था गरिएको छ । कानुनी रूपमा बाध्यकारी नभए पनि आपसी विश्वास र सहकार्यमा आधारित यो समझदारीले सात दशक लामो नेपाल–जापान सम्बन्धलाई पर्यटनमार्फत थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
