त्रिशूली करिडोरमा सवारी दुर्घटना : पर्यटन मार्गको सुरक्षामाथि प्रश्न
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको त्रिशूली किनार क्षेत्रमा मध्यराति भएको यात्रुबाहक बस दुर्घटनाले पर्यटन मार्गको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
राति करिब साढे १ बजे भएको उक्त दुर्घटनामा बस त्रिशूली नदी किनारतर्फ खसेको थियो। यो सडक खण्ड राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरा जोड्ने मुख्य मार्ग हो, जहाँ आन्तरिक तथा विदेशी पर्यटकको नियमित आवागमन हुने गर्दछ। विशेषगरी साहसिक जलयात्रा (र्याफ्टिङ), बञ्जी जम्प र नदी किनारका रिसोर्टका लागि परिचित त्रिशूली करिडोर पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी सुनिल गिरिको कमाण्डमा टोली परिचालन गरिएको थियो। साथै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली घटनास्थलमा खटिएको थियो। उद्धार गरिएका २४ घाइतेलाई नजिकका अस्पतालहरूमा उपचारका लागि लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
मृतक र घाइतेको सनाखत प्रक्रिया जारी रहेको छ भने दुर्घटनाको कारणबारे औपचारिक विवरण आउन बाँकी छ। प्रारम्भिक अनुमानअनुसार मध्यराति, घुमाउरो सडक र सम्भावित प्राविधिक समस्या कारण हुन सक्ने देखिए पनि अनुसन्धानपछि मात्र यकिन हुने बताइएको छ।
यो घटना केवल एक सवारी दुर्घटना मात्र नभई नेपालको प्रमुख पर्यटन मार्गको पूर्वाधार, सवारी सुरक्षामापदण्ड र रात्रीकालीन यात्रा व्यवस्थापनबारे पुनर्विचार गर्नुपर्ने संकेत पनि हो। पृथ्वी राजमार्ग देशकै व्यस्त तथा संवेदनशील पर्यटन करिडोर भएकाले नियमित मर्मत, सडक बत्ती, चालकको कार्यघण्टा व्यवस्थापन र सवारी अनुगमन प्रणालीलाई सुदृढ बनाउनु अपरिहार्य देखिन्छ।
पर्यटन क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार हो। त्यसैले पर्यटक तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित, व्यवस्थित र विश्वसनीय सडक पूर्वाधार निर्माण गर्नु राज्यका लागि अझै ठूलो जिम्मेवारीका रूपमा देखिएको छ।
