शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहाडको पाहुना ‘मदना चाँचर’को आगमन
कञ्चनपुर – जैविक विविधताको हराभरा आँगन शुक्लाफाँटामा यसपालि एउटा अनौठो र स्वादिलो खबर थपिएको छ। मध्यपहाडी वनमा मात्र देखिँदै आएको ‘मदना चाँचर’ पहिलोपटक यहाँ अभिलेख भएपछि चराप्रेमी र प्रकृतिप्रेमीहरू उत्साहित बनेका छन्।
नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा नेतृत्वको टोलीले नियमित चरा अवलोकनका क्रममा यो दुर्लभ पाहुनालाई क्यामेरामा कैद गर्दै अभिलेख गरेको हो। उनीसँगै दिलीप चन्द ठकुरी, सुमन चौधरी र डा. विकल्प पाण्डे पनि सहभागी थिए।
पहाडबाट तराईसम्मको अप्रत्याशित उडान
‘मदना चाँचर’ (वैज्ञानिक नाम: Turdus obscurus – थ्रस परिवार) सामान्यतया १८०० देखि २७०० मिटर उचाइका आद्र्र मध्यपहाडी तथा हिमाली वनमा पाइन्छ। जाडोयाममा केही तल झर्ने स्वभाव भए पनि तराईको समथर भूभागमा देखिनु असामान्य मानिन्छ।
चराविज्ञ डगौराका अनुसार, “विश्वस्तरमा सामान्य श्रेणीमा परे पनि शुक्लाफाँटामा देखिनु स्थानीय रूपमा दुर्लभ घटना हो। यसले वातावरणीय परिवर्तन वा बसाइँसराइको ढाँचामा आएको फेरबदल संकेत गर्न सक्छ।”
कस्तो देखिन्छ ‘मदना चाँचर’?
करिब २८–२९ सेन्टिमिटर लम्बाइको यो चरा आकर्षक बनावटको हुन्छ।
-
भाले – गाढा कालो रङ, पखेटामा हल्का खैरो दाग, चम्किलो पहेँलो चुच्चो।
-
पोथी – खैरो रङ, हल्का पहेँलो वा खैरो चुच्चो।
यसको मधुर स्वर र चञ्चल चालले वनलाई थप जीवन्त बनाउने गर्दछ।
पर्यटन र अनुसन्धानमा नयाँ आयाम
पहाडी क्षेत्रको सीमित प्रजाति तराईमा देखिनुले International Union for Conservation of Nature (IUCN)ले ‘कम चिन्ताजनक’ श्रेणीमा राखेको यो प्रजाति स्थानीय स्तरमा भने विशेष महत्त्व बोकेको देखिएको छ।
शुक्लाफाँटामा नयाँ प्रजाति थपिएसँगै चरा अवलोकन पर्यटन (Bird Watching Tourism)का लागि थप आकर्षण बढ्ने अपेक्षा गरिएको छ। वन्यजन्तु मात्र होइन, दुर्लभ तथा बसाइँसराइ गर्ने चराका कारण पनि निकुञ्ज वैज्ञानिक अनुसन्धान र इको–टुरिज्मको उत्कृष्ट गन्तव्य बन्दै गएको छ।
पहाडको हरियाली वनबाट उडेर आएको यो ‘मदना चाँचर’ले शुक्लाफाँटाको आकाश अझ रंगीन बनाएको छ—जसले संरक्षण, जलवायु परिवर्तन र जैविक विविधताको कथा एकैसाथ सुनाइरहेको छ। रासस
