राष्ट्रिय स्वतन्त्र पार्टीको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यकामा केन्द्रित ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम सुरु गरेको छ। ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नारासहित सुरु गरिएको अभियान शनिबार बिहान गौशालाबाट प्रारम्भ भएको हो।
पार्टीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट, सुझाव संकलन तथा संगठन सुदृढीकरण गर्नु हो। घरदैलो शैलीमा सञ्चालन गरिएको अभियानले उपत्यकाका तीनै जिल्ला—काठमाडौँ, भक्तपुर र ललितपुर—समेट्ने बताइएको छ।
अभियान पशुपतिनाथ मन्दिर को प्रवेशद्वार नजिकैको गौशालाबाट सुरु भई चाबहिल, जोरपाटी, साँखु, मुलपानी र पेप्सीकोला हुँदै भक्तपुर प्रवेश गर्ने तालिका छ। त्यहाँबाट सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक क्षेत्र समेटिनेछन्।
भक्तपुरपछि यात्रा जडिबुटी, ग्वार्को, मंगलबजार र जावलाखेल हुँदै ललितपुरको पुलचोक पुग्नेछ। पुलचोकमा दिउँसो १ बजे संक्षिप्त विश्राम तथा भेटघाट कार्यक्रम राखिएको पार्टीले जनाएको छ।
दोस्रो चरणअन्तर्गत कालिमाटी, टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल र चन्द्रागिरी क्षेत्र समेटिनेछन्। त्यसपछि सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा र बुढानीलकण्ठ हुँदै सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी र गोङ्गबु क्षेत्र पार गर्दै वनस्थली पुग्ने कार्यतालिका छ।
कार्यक्रम बेलुकी ६:३० बजे वनस्थली चोकस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा पुगेर समापन हुनेछ।
रास्वपाका नेताहरूका अनुसार पछिल्ला राजनीतिक गतिविधिपछि प्रत्यक्ष जनसम्पर्क बढाउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको हो। स्थानीय तहदेखि संघीय स्तरसम्म संगठन सुदृढीकरण, सदस्यता विस्तार र मतदाताको सुझाव संकलनलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार उपत्यकाजस्तो घना जनसंख्या भएको क्षेत्रमा प्रत्यक्ष भेटघाट कार्यक्रमले पार्टीको उपस्थितिलाई बलियो बनाउन सक्छ। विशेषगरी युवा मतदाता लक्षित संवाद र प्रतीकात्मक ‘घण्टी अभिवादन’ अभियानले चुनावी तयारीको संकेतसमेत दिने विश्लेषण गरिएको छ।
उपत्यकाभर एकै दिनमा विस्तृत रुट समेटिएको यो कार्यक्रम रास्वपाको हालसम्मकै ठूलो शहरी जनसम्पर्क अभियानका रूपमा हेरिएको छ।
