जेनजी विद्रोह छानबिन आयोगको प्रतिवेदन सार्वजनिक हुन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले भदौ २३ र २४ का घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी सरकारको रहेको बताएकी छन्।
प्रतिनिधिसभा निर्वाचनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले आयोगले प्रतिवेदन बुझाएलगत्तै त्यसलाई सार्वजनिक गरिने र आवश्यक कार्यान्वयन प्रक्रिया अघि बढाइने स्पष्ट पारिन्।
उनले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनता सह्य नहुने बताउँदै सरकारले पारदर्शितालाई प्राथमिकता दिने उल्लेख गरिन्। “यो आयोगको मात्र होइन, यदि यस्ता अन्य प्रतिवेदनहरू पनि छन् भने ती पनि अध्ययन गरेर सार्वजनिक गर्नेछौं, ताकि जनताले वास्तविकता थाहा पाउन सकून्,” प्रधानमन्त्री कार्कीको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा विभिन्न चुनौती र अवरोध सामना गर्नुपरेको उल्लेख गर्दै त्यसका बाबजुद सरकार आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध भएर अघि बढेको बताइन्। उनका अनुसार दबाब, आलोचना र अवरोधबीच पनि सरकार विचलित नभई निष्ठा र इमानदारीका साथ काम गर्दै आएको छ।
“हामीमाथि विभिन्न कोणबाट आक्रमण र अवरोधहरू भए, तर त्यसले हाम्रो मार्ग परिवर्तन गर्न सकेन,” उनले भनिन्, “निस्वार्थ भावनाका साथ काम गरियो भने परिणाम हासिल गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी अघि बढ्यौँ।”
