काठमाडौं । नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ। निर्वाचनपछि स्थिर सरकार गठनतर्फ देश अघि बढिरहेका बेला भारतले छिमेकी राष्ट्रका रूपमा सहकार्यलाई निरन्तरता दिने संकेत गरेको हो।
भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ जारी गरेको वक्तव्यमा नेपालमा लोकतान्त्रिक अभ्यासअन्तर्गत निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सकारात्मक भएको उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्की र निर्वाचनमा सक्रिय रूपमा सहभागी मतदातालाई बधाई दिइएको छ।
वक्तव्यमा भारतले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई स्मरण गर्दै आगामी दिनमा गठन हुने नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जनाइएको छ। दुई देशबीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै त्यसलाई अझ सुदृढ बनाउन सहकार्य जारी रहने बताइएको छ।
भारतीय विदेश मन्त्रालयले नेपालमा स्थायित्व, शान्ति र आर्थिक प्रगतिका लागि भारतले निरन्तर सहयोग र समर्थन गर्ने पनि जनाएको छ। साथै, आगामी सरकारसँग मिलेर द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायले पनि चासोपूर्वक हेरिरहेका छन्। निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि विभिन्न देशबाट बधाई सन्देश आउने क्रम जारी रहेको छ।