काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढेको सुरक्षा संवेदनशीलताका कारण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार १४ वटा अन्तर्राष्ट्रिय उडान स्थगित भएका छन् ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार कुवेत, दुबई, दोहा र शारजाह गन्तव्यका विभिन्न वायुसेवाका उडानहरू रद्द गरिएका हुन्।
कार्यालयका अनुसार जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सद्वारा सञ्चालन हुने कुवेत–काठमाडौं–कुवेत, शारजाह–काठमाडौं–शारजाह, दुबई–काठमाडौं–दुबई तथा दोहा–काठमाडौं–दोहा रुटका उडानहरू प्रभावित भएका छन्।
विमानस्थल प्रशासनले यात्रुहरूलाई परेको असुविधा कम गर्न सम्बन्धित वायुसेवा कम्पनीहरूसँग समन्वय गर्दै व्यवस्थापन गरिरहेको जनाएको छ। साथै, उडानसम्बन्धी थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न यात्रुहरूलाई अनुरोध गरिएको छ।