२९ वर्षमै पुनः संसद् प्रवेश : जनसेवाको लक्ष्यसहित उदाएकी निशा डाँगी
झापा । देशको राजनीति र शासन प्रणालीमा बढ्दो बेथिति तथा भ्रष्टाचारप्रति असन्तुष्टि व्यक्त गर्दै लोकसेवाको तयारी गरिरहेकी निशा डाँगी चार वर्षअघि सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन्। व्यक्तिगत करियरका लागि सरकारी सेवा रोज्ने सोच त्याग्दै उनले जनताको सेवामा समर्पित हुने लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेकी हुन्।
२९ वर्षीया डाँगी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। फागुन २१ गते सम्पन्न निर्वाचनमा उनले ४५ हजार ६८० मत प्राप्त गर्दै संसद्मा स्थान सुरक्षित गरेकी हुन्।
यो डाँगीको दोस्रो संसदीय यात्रा हो। २०७९ सालको निर्वाचनमा २५ वर्षको उमेरमै समानुपातिकतर्फ सांसद बनेर उनी देशकै कान्छी सांसदका रूपमा चिनिएकी थिइन्। त्यसबेला संसद्मा रहँदा उनले युवासँग सम्बन्धित मुद्दा र समस्यालाई निरन्तर रूपमा उठाउँदै आएकी थिइन्।
यसपटक प्रत्यक्षतर्फ जित हासिल गर्दै उनले जनताको विश्वास थप मजबुत बनाएकी छन्। झापाको भद्रपुर नगरपालिका–२ निवासी डाँगी हाल रास्वपाको केन्द्रीय सदस्य पनि हुन्। अघिल्लो प्रतिनिधिसभामा उनले पार्टीको सचेतकको जिम्मेवारी समेत सम्हालेकी थिइन्।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेकी डाँगी भीमबहादुर र देवीमाया डाँगीकी छोरी हुन्। २०५३ मंसिर १६ गते भद्रपुरमा जन्मिएकी उनी पूर्णकालीन राजनीतिमा आउनुअघि करिब पाँच वर्ष पत्रकारितामा सक्रिय थिइन्।
उनका अनुसार पत्रकारितामा बिताएको समयले समाज, नागरिकका समस्या र राजनीतिको वास्तविक अवस्था बुझ्न महत्वपूर्ण भूमिका खेलेको थियो। “पत्रकारिताले समाजका यथार्थ समस्या बुझ्ने अवसर दियो,” उनले भनिन्।
निर्वाचन अभियानका क्रममा घरदैलो कार्यक्रममार्फत उनले झापा–१ का स्थानीय आवश्यकता, जनताको अपेक्षा र विकासका प्राथमिकता नजिकबाट बुझ्ने अवसर पाएको बताएकी छन्। भ्रष्टाचार, नातावाद र प्रशासनिक ढिलासुस्तीको आलोचकका रूपमा परिचित उनी जनताले सुशासन र इमानदार नेतृत्वको अपेक्षासहित आफूलाई मत दिएको बताउँछिन्।
“हामीलाई प्राप्त मतादेश सुशासन र इमान्दारिताका लागि हो,” डाँगी भन्छिन्, “जनताले राखेको विश्वासलाई सार्थक बनाउँदै देश र जनताको हितमा काम गर्नेछु।”
युवा ऊर्जा, शैक्षिक योग्यता र संसदीय अनुभवको संयोजन भएकी डाँगीबाट झापा–१ का मतदातासहित परिवर्तनको अपेक्षा राख्ने युवाहरूले पनि उल्लेख्य अपेक्षा गरेका छन्।
