भैरहवा क्षेत्रमा ग्यास अभावको गुनासो, आयात भने सामान्य
सिद्धार्थनगर । भैरहवा आसपासका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। भन्सारबाट ग्यास आयात नियमित रूपमा भइरहेको बताइए पनि स्थानीय बजारमा भने उपभोक्ताले सहज रूपमा सिलिण्डर पाउन नसकेको गुनासो गरेका छन्।
स्थानीयका अनुसार एउटा ग्यास सिलिण्डर किन्नकै लागि पसल–पसल धाउनुपर्ने अवस्था देखिएको छ। धेरैजसो पसलमा मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइने गरिएको छ भने केही ठाउँमा ग्यास लिन लामो लाइन लाग्ने गरेको बताइएको छ।
भैरहवाका स्थानीय प्रदीप ज्ञवालीले लामो समय पालो कुरेर पनि ग्यास नपाउँदा दैनिक भान्छा चलाउनै कठिन भएको बताए। उनका अनुसार बजारमा ग्यास नपाइने अवस्था बढ्दै जाँदा घरायसी कामकाज प्रभावित हुन थालेको छ।
ग्यास बिक्रेताहरूले भने कम्पनीबाट मागअनुसार आपूर्ति नहुँदा समस्या देखिएको दाबी गरेका छन्। पर्याप्त परिमाणमा ग्यास नआउँदा उपभोक्तालाई उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ।
तर भैरहवा भन्सार कार्यालयका अनुसार ग्यास आयात भने सामान्य अवस्थामा रहेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार निर्वाचनका कारण केही दिन आयात प्रक्रियामा सामान्य अवरोध भए पनि अहिले नियमित रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नेपाल भित्रिने क्रम जारी छ।
स्थानीय विक्रेताहरूका अनुसार सम्भावित अभावको आशङ्कामा उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास घरमै राख्न थालेपछि बजारमा अस्थायी अभाव देखिएको हुन सक्छ। यसअघि दैनिक सीमित संख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले भने केही घण्टामै सकिने गरेको उनीहरूले बताए।
यसैबीच सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ ग्यास सिलिण्डर लैजाने प्रयाससमेत बढेको स्थानीयले बताएका छन्। भारतीय बजारमा ग्यासको मूल्य बढी र आपूर्ति कम भएकाले नेपालबाट सिलिण्डर तस्करी हुने सम्भावना रहेको उनीहरूको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार हुन सक्ने भएकाले निगरानी कडा पारिएको जानकारी दिए।
उनका अनुसार सीमा नाकामा जाँच कडाइ गरिएको छ। यसै क्रममा इलाका प्रहरी कार्यालय बेलहियाले भारततर्फ लैजान खोजिएको र भारतबाट नेपालतर्फ ल्याइँदै गरेको केही ग्यास सिलिण्डर नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले सीमाबाट हुने अवैध कारोबार रोक्न निरन्तर निगरानी बढाइएको जनाएको छ।
