भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति कार्य सुरु भएपछि यस क्षेत्रको पर्यटन विकासमा नयाँ सम्भावना
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रअन्तर्गत पर्ने हाँडेभिर–बगरफाँट–दूधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति कार्य सुरु भएपछि यस क्षेत्रको पर्यटन विकासमा नयाँ सम्भावना देखिन थालेको छ। करिब १८ वर्षअघि कृषि सडकका रूपमा ट्र्याक खोलिएको यो सडक अहिले व्यवस्थित रूपमा विस्तार र स्तरोन्नति हुँदै गएको हो।
वि.सं. २०६४ मा बेनी बजारबाट हाँडेभिर र बगरफाँट हुँदै भकिम्लीसम्म जोडिने करिब नौ किलोमिटर सडकको ट्र्याक खोलिएको थियो। अहिले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत बहुवर्षीय योजनाका रूपमा उक्त सडकलाई स्तरोन्नति गर्ने काम अघि बढाइएको छ। सडक सुधारसँगै यहाँको प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैली अवलोकन गर्न आउने पर्यटकका लागि आवागमन सहज हुने अपेक्षा गरिएको छ।
सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले करिब १० करोड रुपैयाँ लागत अनुमानसहित माछापुच्छ्रे हिमालयन जेभीसँग वि.सं. २०८१ जेठमा ठेक्का सम्झौता गरेको थियो। कम्पनीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको हो। हाल सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने, सतह सम्याउने, बेस तयार गर्ने तथा खोल्सा–खोलामा पक्की ढलानमार्फत पानी निकासको व्यवस्था गर्ने काम सम्पन्न भइसकेको छ भने अब ग्राभेल गर्ने चरण बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले जानकारी दिए।
उनका अनुसार अबको केही दिनमै ग्राभेलका लागि आवश्यक बेस तयार गर्ने काम सुरु हुनेछ। बगरफाँटको कोटखोलादेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडक फराकिलो बनाउने र नाली निर्माण गर्ने काम पूरा भइसकेको छ।
हाँडेभिरदेखि बगरफाँटस्थित बुद्ध एकेडेमीसम्मको सडक भने यसअघि नै कालोपत्र भइसकेको छ। बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई स्तरोन्नति मापदण्डअनुसार आठ मिटर चौडाइमा विस्तार गरिएको सडक स्तरोन्नति सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले बताए।
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी रबिन चोखालका अनुसार यही आयोजनाअन्तर्गत दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न स्थानमा करिब ३९० मिटर ढलानसमेत गरिएको छ।
सडक स्तरोन्नति भएपछि म्याग्दी र छिमेकी बागलुङका विभिन्न ग्रामीण बस्तीमा पुग्न सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीय कृषि उत्पादनको बजारीकरणलाई मात्रै सहज बनाउने होइन, भकिम्ली, हल्लेगौडा, बगरफाँटलगायत क्षेत्रका प्राकृतिक दृश्य, ग्रामीण संस्कृति र पहाडी जीवनशैली अनुभव गर्न आउने आन्तरिक पर्यटकको संख्या पनि बढ्ने विश्वास स्थानीयवासीको छ। पर्यटनसँगै ग्रामीण अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।
