गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन व्यवसायीहरूको आग्रह
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
सिद्धार्थनगर (भैरहवा) । रूपन्देहीका उद्योगी–व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा पर्यटन तथा व्यापार क्षेत्रले अपेक्षित लाभ लिन नसकेको उनीहरूको भनाइ छ।
पर्यटन क्षेत्रमा झण्डै एक खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको अवस्थामा विमानस्थल प्रभावकारी रूपमा सञ्चालन नहुँदा लगानी जोखिममा पर्न सक्ने पर्यटन व्यवसायी अमित गुप्ताले बताए। बौद्ध सभ्यता र इतिहाससँग जोडिएका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक गन्तव्य नजिकै रहेकाले विमानस्थल सञ्चालनले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यो क्षेत्र बौद्ध सभ्यता, इतिहास र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास हुन सक्ने ठूलो सम्भावना बोकेको छ। भैरहवाका मधुप्रसाद पन्थीले रूपन्देही नेपालकै महत्वपूर्ण औद्योगिक क्षेत्र भएकाले यहाँ उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक पूर्वाधार र सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। भैरहवा औद्योगिक करिडोरमा उत्पादन हुने वस्तुको निर्यात विस्तार गर्न सके उद्योग क्षेत्र थप सशक्त बन्ने उनको भनाइ छ।
निजी क्षेत्रका प्रतिनिधिहरूले स्थिर सरकार गठनसँगै लगानीमैत्री वातावरण, पर्यटन प्रवद्र्धन, उद्योग विस्तार र पूर्वाधार विकासमा सरकारले प्रभावकारी कदम चाल्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूका अनुसार विमानस्थल नियमित रूपमा सञ्चालनमा आए लुम्बिनी क्षेत्रको पर्यटन विकाससँगै रूपन्देहीको उद्योग–व्यापारमा समेत सकारात्मक प्रभाव पर्नेछ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
