कतै ग्यासको अवैध कारोबार त भइरहेको छैन ? त्यसो हो भने निःशुल्क नम्बर ११३७ मा खबर गर्नुहोस्
काठमाडौं । काठमाडौँमा खाना पकाउने एलपी ग्यासको अभावलाई मौका बनाएर अवैध कारोबार भइरहेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। विभागले यस्तो गतिविधिबारे कुनै जानकारी भए तुरुन्तै निःशुल्क टेलिफोन नम्बर ११३७ मा खबर गर्न अनुरोध गरेको हो।
पछिल्ला दिनहरूमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाएर राख्ने तथा बढी मूल्यमा बिक्री गर्ने प्रवृत्ति बढेको गुनासो आएपछि विभागले उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ। नेपाल आयल निगमले आधा सिलिन्डर मात्र वितरण गर्ने व्यवस्था गरे पनि बजारमा अभाव कायमै देखिएको छ।
विभागले अनियमितता पुष्टि भए कडा कारबाही गर्ने चेतावनी दिँदै देशभरबाट सहज रूपमा सम्पर्क गर्न सकिने गरी निःशुल्क हेल्पलाइन सञ्चालनमा ल्याएको जनाएको छ। साथै, विभिन्न स्थानमा नियमित अनुगमन र निरीक्षण तीव्र पारिएको छ।
अनुगमनका क्रममा कैफियत भेटिएमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिँदै आएको विभागले जनाएको छ। उच्च मागको यो अवस्थालाई मध्यनजर गर्दै कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न आफूहरू सक्रिय रहेको पनि विभागको भनाइ छ।
यस्तै, ग्यास उत्पादक र वितरकलाई कानुनअनुसार कारोबार गर्न तथा कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन विभागले चेतावनी दिएको छ। सोमबार मात्र ललितपुरको हरिसिद्धिस्थित गोदाममा ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको थियो। उक्त गोदामबाट १४.२ केजीका ६ हजार ३७७ सिलिन्डर बरामद गरिएको विभागले जानकारी दिएको छ।
