आधुनिक प्रविधिले खेतीमा क्रान्ति: लागत घट्यो, उत्पादन र आम्दानी बढ्यो
पर्सा — कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा किसानहरूलाई लागत घटाउन, समय बचत गर्न र उत्पादन बढाउन सहज भएको छ। पर्सा र बाराका विभिन्न किसानले मेसिन प्रयोगबाट परम्परागत खेतीको समस्या कम भएको अनुभव सुनाएका छन्।
बाराको फेटा गाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरका लागि केही वर्षअघिसम्म आलुखेती गर्नु निकै कठिन थियो। श्रमिक अभाव, बढी खर्च र समय लाग्ने समस्याले खेती निरन्तरता दिनै चुनौतीपूर्ण हुन्थ्यो। अहिले भने आलु रोप्ने र खन्ने मेसिन प्रयोग गर्न थालेपछि उनको खर्च आधाभन्दा बढी घटेको छ।
उनका अनुसार पहिले प्रतिकठ्ठा आलु रोप्न तीन जना श्रमिक आवश्यक पर्थे र कम्तीमा १५ सय रुपैयाँ खर्च हुन्थ्यो। अहिले मेसिन प्रयोग गर्दा करिब पाँच सय रुपैयाँमै काम सकिने भएको छ। यसले श्रमिक अभावको समस्या समाधान हुनुका साथै उत्पादन व्यवस्थापन पनि सहज भएको उनले बताए। सवा तीन बिघामा आलुखेती गरेका ठाकुरले प्रविधिको प्रयोगपछि वार्षिक आम्दानी उल्लेखनीय रूपमा बढेको बताए।
फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीका अनुसार पालिकाले अनुदानमा आलु रोप्ने मेसिन उपलब्ध गराएपछि अन्य किसान पनि प्रविधिमैत्री खेतीतर्फ आकर्षित भएका छन्। आगामी आर्थिक वर्षमा थप आधुनिक कृषि उपकरण उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए।
कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख सचिनकुमार मिश्रले प्रविधिको प्रयोगले खेतीलाई सरल र लाभदायक बनाइरहेको बताए। उनका अनुसार आलुखेतीसँगै गहुँखेतीमा पनि मेसिनको प्रयोगले समय र लागत घटाउँदै आम्दानी बढाउन मद्दत गरिरहेको छ।
पर्साको जगरनाथपुर गाउँपालिका–३ विजबनियाँका किसानहरूले पनि हारभेस्टर मेसिन प्रयोग गरी गहुँखेती गर्दा खर्च घटेको बताएका छन्। किसान अभयप्रसाद यादवका अनुसार परम्परागत तरिकाले खेती गर्दा धेरै खर्च लाग्थ्यो र श्रमिक अभाव पनि हुन्थ्यो, तर अहिले मेसिन प्रयोग गर्दा कम लागतमा राम्रो उत्पादन लिन सकिएको छ।
कृषि अनुसन्धान निर्देशनालयका निर्देशक विश्वेश्वरप्रसाद यादवले आधुनिक प्रविधि कृषि विकासको मुख्य आधार बनेको बताए। स्थानीय तहहरूले सामूहिक खेती र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता उनले औँल्याए।
नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. कृष्ण तिम्सिनाले किसानलाई उन्नत बीउबिजन र प्रविधिमैत्री खेतीतर्फ प्रेरित गर्न सरकार सक्रिय रहेको बताए। परम्परागत ढाँचामा खेती गरेर अपेक्षित लाभ लिन कठिन हुने भएकाले अत्याधुनिक प्रविधि अपनाउनु आवश्यक रहेको उनको भनाइ छ। सीमावर्ती क्षेत्रका किसानलाई स्वदेशी बीउबिजन प्रयोग गर्न समेत उनले आग्रह गरेका छन्।
