मध्यपूर्व द्वन्द्वको प्रत्यक्ष असर: पर्यटक घट्दा पोखराको पर्यटन व्यवसाय प्रभावित
काठमाडौं — मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको अवरोधका कारण पर्यटकीय नगरी पोखरामा पर्यटक आगमन उल्लेख्य रूपमा घटेको छ। विशेषगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट केन्द्र दुबई, कतार र साउदी अरेबियामा समस्या उत्पन्न भएपछि पर्यटन गतिविधि प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।
पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार पछिल्लो समय विदेशी पर्यटकले होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्द गर्ने क्रम बढेको छ। मध्यपूर्वको अस्थिरताले अन्तर्राष्ट्रिय यात्रामा अनिश्चितता बढाउँदा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या घटेको उनले बताए। नेपाल आउने अधिकांश पर्यटकले मध्यपूर्वका ट्रान्जिट विमानस्थल प्रयोग गर्ने भएकाले त्यस क्षेत्रको तनावले प्रत्यक्ष असर परेको उनको भनाइ छ।
होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको मुख्य सिजनमै अपेक्षाकृत पर्यटक नआएको बताए। मार्चदेखि मेसम्मको समयलाई दोस्रो ठूलो पर्यटन सिजन मानिने भए पनि मध्यपूर्वको अवस्थाका कारण युरोपेली पर्यटकको आगमन घटेको उनले जानकारी दिए। अमेरिकाले आफ्ना नागरिकका लागि नेपालबारे सावधानी सूचना जारी गरेपछि अमेरिकी पर्यटकको संख्या पनि न्यून भएको उनले उल्लेख गरे।
पर्यटन व्यवसायी नेत्र पौडेलका अनुसार इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वले पोखरामा हुने अग्रिम बुकिङहरू धमाधम रद्द भइरहेका छन्। ट्रेकिङ, होटल र ट्राभल प्याकेजका बुकिङ घट्दा समग्र पर्यटन बजार सुस्ताएको उनले बताए।
यद्यपि भारतीय र आन्तरिक पर्यटकको आगमन भने सामान्य अवस्थामा रहेको व्यवसायीहरूको भनाइ छ। विदेशी पर्यटक घटे पनि घरेलु बजारले केही हदसम्म पर्यटन क्षेत्रलाई धानिरहेको उनीहरूले बताएका छन्।
पर्यटन व्यवसायीहरूका अनुसार यदि मध्यपूर्वको तनाव लम्बियो भने आगामी पर्यटन सिजनमा अझ ठूलो असर पर्ने चिन्ता बढेको छ। अन्तर्राष्ट्रिय उडान, ट्रान्जिट र सुरक्षासम्बन्धी अनिश्चितता कायम रहे पर्यटन क्षेत्र पुनः प्रभावित हुने उनीहरूको आशंका छ।
