भेनिसमा चर्चा बटुलेको चिनियाँ फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भइसकेको चिनियाँ फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन गरिएको छ। पेमा छेडनद्वारा निर्देशित यो फिल्म ‘सिजाङ पानोरमा’ विशेष खण्डअन्तर्गत दर्शकसामु प्रस्तुत गरिएको हो।
सन् २०२३ को भेनिस महोत्सवमा पहिलो पटक प्रदर्शन भएको उक्त फिल्म तिब्बती गोठालाहरूको जीवन, हिमाली परिवेश र मानव तथा वातावरणबीचको सहअस्तित्वको कथामा आधारित रहेको छ। अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा बटुलेको यो फिल्म निफमा पनि दर्शकको आकर्षण बनेको आयोजकले जनाएको छ।
‘सिजाङ पानोरमा’ अन्तर्गत शनिबार ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ फिल्महरू पनि प्रदर्शन गरिएको थियो। भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा प्रदर्शन गरिएका यी फिल्महरूले हिमाली क्षेत्रको जीवन, शिक्षा, सामाजिक परिवर्तन र सांस्कृतिक यथार्थलाई चित्रण गरेका छन्।
गुओ यिफी निर्देशित ‘होम अवे होम क्लोज’ले दुर्गम क्षेत्रमा मोबाइल फोटो स्टुडियो स्थापना गर्न संघर्ष गर्ने युवाको कथा देखाउँछ भने ज्याक मालाटेरेको ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ले शिक्षासम्बन्धी चुनौती र अवसरलाई उजागर गर्छ। त्यस्तै, सियाओ सियाओवाई निर्देशित ‘सनराइज ओभर द प्लेटो’ले साधारण परिवारको जीवनमा आएको आर्थिक र सांस्कृतिक रूपान्तरणलाई प्रस्तुत गरेको छ।
आइतबार ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजाङ २०२६’ फिल्म प्रदर्शन हुने कार्यक्रम रहेको छ। ‘सिजाङ पानोरमा’ निफअन्तर्गत प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शनी खण्ड हो, जहाँ अन्तर्राष्ट्रिय विषयवस्तुका फिल्महरू देखाइन्छन्।
यसैबीच, सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा प्रतिस्पर्धात्मक फिल्महरूको प्रदर्शन जारी रहेको छ भने नेपाल पर्यटन बोर्डमा ‘निफ फिचर पिच’ कार्यक्रममार्फत युवा लेखकहरूले आफ्ना कथा निर्मातासामु प्रस्तुत गरेका छन्।
