देशव्यापी आर्थिक गणना सुरु, करिब ५ हजार जनशक्ति खटाइयो
काठमाडौं । मुलुकभर दोस्रो राष्ट्रिय आर्थिक गणनाको औपचारिक सुरुवात भएको छ। यस अभियानका लागि आवश्यक गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिइसकेको जानकारी राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको छ।
निर्धारित कार्यतालिका अनुसार स्थलगत रूपमा तथ्याङ्क संकलन गर्ने काम आगामी असारको पहिलो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस महत्वपूर्ण कार्यका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।
अर्थ मन्त्रालयले यो गणना देशको समग्र आर्थिक गतिविधिको यथार्थ चित्र प्रस्तुत गर्ने आधार हुने भएकाले सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ। गणनामा उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सार्वजनिक क्षेत्रसँग सम्बन्धित करिब १८ वटा क्षेत्रका आधारभूत विवरणहरू संकलन गरिनेछ।
यस क्रममा दर्ता भएका र नभएका साना–ठूला व्यवसाय, रोजगारी सिर्जना गर्ने प्रतिष्ठान, स्वरोजगारमा आधारित व्यवसाय, उद्योग–कलकारखाना, गैरसरकारी संस्था, सरकारी निकाय, विद्यालय तथा अस्पतालहरूको विवरण समेत समेटिनेछ।
गणना सञ्चालनको पूर्वतयारीका काम फागुन मसान्तमै सम्पन्न भइसकेका छन् भने चैतदेखि देशभर ७७ जिल्लासहित ८४ वटा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ। ती कार्यालयहरू असार मसान्तसम्म सक्रिय रहनेछन्।
यसअघि वि.सं २०७५ मा सम्पन्न आर्थिक गणनाबाट देशभर करिब ९ लाख २३ हजारभन्दा बढी व्यवसाय तथा प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक गरिएको थियो।
