क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेखलाई सहायक हवल्दार पदमा बढुवा गरिएको छ। नेपाल प्रहरीले उनलाई प्रहरी जवानबाट विशेष बढुवामार्फत उक्त पदमा पदोन्नति गरेको जनाएको छ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ३९ अनुसार जनपद प्रहरी समूहअन्तर्गत आरिफलाई विशेष बढुवा प्रदान गरिएको हो। खेलकुद क्षेत्रमा पुर्याएको योगदानलाई मूल्याङ्कन गर्दै संगठनले यो निर्णय गरेको हो।
नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका आरिफले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन्। उनले जय ट्रफीमा दुई पटक उपाधि जिताउन नेतृत्व गरेका थिए भने प्रो क्लब च्याम्पियनसिपमा पनि टोलीलाई विजेता बनाएका थिए।
अन्तर्राष्ट्रिय स्तरमा पनि उनले उल्लेखनीय योगदान दिएका छन्। विशेषगरी आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउँदै देशको प्रतिष्ठा उचो बनाउने कार्यमा उनको भूमिका महत्वपूर्ण मानिएको छ। यही योगदानको कदरस्वरूप नेपाल प्रहरीले उनलाई पदोन्नति गरेको हो।
यसैबीच, नेपाल पुलिस क्लब क्रिकेट टोलीलाई थप सुदृढ बनाउन सहयोगसमेत प्राप्त भएको छ। माया ग्रुप यूकेले क्लबका खेलाडी तथा अफिसियललाई खेल सामग्री उपलब्ध गराएको छ। यसअघि नै माया ग्रुप र नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालयबीच सन् २०२६ देखि २०२७ सम्मका लागि नेपाल पुलिस क्रिकेट टोलीलाई खेल सामग्री प्रायोजन गर्ने सहमति भएको थियो।
