नारच्याङ लेकगाउँ : मगर संस्कृति र प्राकृतिक सौन्दर्यको जीवित संग्रहालय
म्याग्दी । नारच्याङ लेकगाउँ मगर संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यको अद्वितीय संगमका रूपमा परिचित बन्दै गएको छ। अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित यो गाउँ समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको छ। पहाडी पाखामा गुजुम्म परम्परागत शैलीमा बनेका ढुङ्गे घरहरूले लेकगाउँलाई ‘मगर संग्रहालय’को पहिचान दिलाएका छन्।
करिब एक सय घरधुरी रहेको यस गाउँमा अधिकांश मगर समुदायको बसोबास छ। स्थानीयवासीले पुस्तौंदेखि जोगाउँदै आएको मौलिक जीवनशैली, परम्परा र संस्कृतिका कारण गाउँले छुट्टै सांस्कृतिक महत्व बोकेको छ।
वडा सदस्य श्याम पुर्जाका अनुसार, सयौं वर्षअघि स्थानीय सीप र सामग्री प्रयोग गरेर निर्माण गरिएका ढुङ्गे घरहरूले गाउँको मौलिकता अझै जोगाइरहेका छन्। “यहाँ अर्मपर्म गरेर खेती गर्ने, घुम्ती गोठमा पशुपालन गर्ने, पुर्ख्यौली नाच प्रस्तुत गर्ने तथा भूमे पूजा गर्ने चलन अझै जीवित छन्,” उनले भने, “लेकगाउँलाई मगर समुदायको संस्कार, संस्कृति, कला र सीप अध्ययन गर्ने जीवित केन्द्रका रूपमा विकास गर्ने प्रयास भइरहेको छ।”
संस्कृतिसँगै लेकगाउँ प्राकृतिक रूपमा पनि अत्यन्त मनमोहक छ। गाउँको पृष्ठभूमिमा धौलागिरि हिमाल, अन्नपूर्ण हिमाल, नीलगिरि हिमाल, मानापाथी र बराह शिखर हिमालको मनोरम दृश्य देख्न सकिन्छ। अन्नपूर्ण हिमालबाट खस्ने हिमपहिरोको दृश्य नजिकबाट अवलोकन गर्न सकिन्छ।
लेकगाउँ नजिकै रहेको समथर स्वाँराफाँट स्थानीय कृषि र पशुपालनको मुख्य केन्द्र हो। यहाँ स्थानीयवासीले खाद्यान्न खेती गर्नुका साथै हिउँदको समयमा गाईभैंसी तथा भेडाबाख्राका घुम्ती गोठ सञ्चालन गर्छन्।
वनस्पतिविद् कमल मादेनको नेतृत्वमा केही वर्षअघि गरिएको अध्ययनले स्वाँराफाँट विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान भएको र आसपासका जंगलमा प्रशस्त जडीबुटी पाइने उल्लेख गरेको थियो।
खोप्रा लेकको फेदीमा रहेको लेकगाउँ हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ। घोडेपानी, बयली र खोप्रा हुँदै नारच्याङ जोड्ने पदमार्ग पनि सञ्चालनमा छ। तर पर्याप्त प्रचारप्रसार नहुँदा अपेक्षाअनुसार पर्यटक आगमन हुन नसकेको स्थानीयको भनाइ छ।
पर्यटकको सुविधाका लागि गाउँमा होटल, रेष्टुरेन्ट तथा घरबास (होमस्टे) सञ्चालनमा छन्। आगन्तुकले स्थानीय जीवनशैली नजिकबाट अनुभव गर्नुका साथै घुम्ती गोठमा पालिएका गाईभैंसी र भेडाबाख्राको अवलोकन गर्न सक्छन्।
गुल्मीबाट भ्रमणका लागि आएका होमनाथ पाण्डेले लेकगाउँमा मगर संस्कार, परम्परा र जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुने बताए।
भुरुङ तातोपानी हुँदै लेकगाउँ पुग्ने क्रममा नारच्याङ बेँसीमा रहेको नारच्याङ झरनाको दृश्यले यात्रालाई थप आकर्षक बनाउँछ। भुरुङ तातोपानीबाट करिब दुई घण्टा पैदल वा एक घण्टा सवारी यात्रापछि लेकगाउँ पुग्न सकिन्छ।
लेकगाउँबाट नारच्याङ क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको अवलोकनसमेत गर्न सकिन्छ। वडा अध्यक्ष लोकबहादुर फगामीका अनुसार, लेकगाउँ हुँदै खोप्रा र अन्नपूर्ण आधार शिविर जाने मार्गमा पूर्वाधार विस्तार भइरहेको छ। “संस्कृति र प्राकृतिक सौन्दर्यको संरक्षणसँगै यसको प्रभावकारी प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने तथा गाउँ छाडेर बाहिर गएकालाई फर्काउने प्रयास भइरहेको छ,” उनले बताए।
