गर्मी छल्न लमजुङको गाईखुरे झरनामा बढ्यो पर्यटकको आकर्षण
लमजुङ । वर्षायाम सुरु भएसँगै लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरना आन्तरिक पर्यटकको प्रमुख आकर्षण बनेको छ। डुम्रे–बेँसीसहर सडकको छेउमै रहेको यस प्राकृतिक झरनामा दैनिक करिब पाँच सय जनासम्म पर्यटक पुग्ने गरेका छन् भने सार्वजनिक बिदाका दिन यो संख्या झन्डै दोब्बर हुने गरेको स्थानीय बताउँछन्।
बेँसीसहर बजारबाट करिब ६ किलोमिटर दूरीमा रहेको करिब १०० मिटर अग्लो झरना सहज पहुँच र प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय निकै चर्चामा छ। गत वर्ष साउनयता पर्यटकको चहलपहल बढ्न थालेको यस क्षेत्रमा यस वर्ष असार लागेसँगै अझ बढी भीड देखिएको छ।
अग्लो पहराबाट झर्ने स्वच्छ पानी प्राकृतिक पोखरीमा खस्दा सिर्जना हुने मनमोहक दृश्य, पानीका छिटासँग घामको किरणले बनाउने सप्तरङ्गी इन्द्रेणी तथा शीतल वातावरणले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ। धेरैजसो आगन्तुक झरनाको फेदीसम्म पुगेर फोटो तथा भिडियो खिच्ने, सेल्फी लिने र प्राकृतिक पोखरीमा पौडी खेलेर रमाउने गरेका छन्।
गाईखुरे झरनामा लमजुङका साथै मनाङ, कास्की, तनहुँ, गोरखा, चितवनलगायत विभिन्न जिल्लाबाट पर्यटक पुग्ने गरेका छन्। तनहुँबाट घुम्न आएकी पार्वती तामाङले अपेक्षा गरेभन्दा झरना अझ सुन्दर लागेको बताउँदै गर्मी छल्न र साथीहरूसँग रमाउन उत्कृष्ट गन्तव्य भएको प्रतिक्रिया दिइन्।
घुम्न आएका अन्य पर्यटकले पनि झरनाको प्राकृतिक सौन्दर्यसँगै यहाँ साहसिक पर्यटन गतिविधि सञ्चालनको राम्रो सम्भावना रहेको उल्लेख गरेका छन्। प्राकृतिक पोखरीमा पौडी खेल्नका साथै भविष्यमा क्यानोनिङजस्ता साहसिक खेल सञ्चालन गर्न सकिने स्थानीयको विश्वास छ।
बेँसीसहर नगरपालिकाले चालु आर्थिक वर्षमा करिब ९ लाख रुपैयाँ खर्च गरेर झरना क्षेत्रमा दुईवटा पोखरी निर्माण गरिसकेको छ। साथै गण्डकी प्रदेश सरकारको ‘एक जिल्ला, एक पर्यटन क्षेत्र’ कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षका लागि गाईखुरे झरना विकासमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालका अनुसार झरनालाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित मर्स्याङ्दी नदीबाट वर्षभरि पानी प्रवाह गर्ने, थप पोखरी निर्माण, पार्किङस्थल विकास तथा क्यानोनिङ र र्याफ्टिङ सञ्चालनको योजना अघि बढाइएको छ।
बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले यसअघि पूर्वाधार विकासका लागि ठेक्का प्रक्रिया अघि बढाइए पनि अपेक्षित काम हुन नसकेको स्वीकार गर्दै अब व्यवस्थित रूपमा पर्यटन पूर्वाधार निर्माणलाई गति दिने बताए।
चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको लमजुङ हुँदै यात्रा गर्ने विदेशी पर्यटकले समेत गाईखुरे झरनाको अवलोकन गर्ने गरेका छन्। साथै मस्र्याङ्दी गाउँपालिकाका अक्टोपस झरना, बुङ झरना र भुलभुलेस्थित हामखोला झरनामा पनि पछिल्लो समय पर्यटकको आवागमन बढ्दै गएको छ।
पर्यटन व्यवसायीहरूले प्राकृतिक सम्पदाको संरक्षण, प्रभावकारी प्रचारप्रसार र आवश्यक पूर्वाधार विस्तार गर्न सके गाईखुरे झरनाले लमजुङको पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
