पहिरोले थुनिएको किम्रुङ खोला फुट्दा मोदी खोलामा आकस्मिक बाढी, घर, होटल र सडकमा ठूलो क्षति
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरोले थुनिएको पानी एक्कासी बग्दा आएको भीषण बाढीले मोदी खोलाको जलस्तर ह्वात्तै बढेको छ। बाढीका कारण नदी किनारका घर, होटल, रेष्टुरेन्ट, सडक तथा झोलुङ्गे पुलमा क्षति पुगेको छ।
अन्नपूर्ण गाउँपालिका–८ र १० को सिमानामा पर्ने स्याउलीबजारस्थित दिलीप गुरुङको घर र होटल बाढीले पूर्ण रूपमा बगाएको छ। त्यस्तै स्थानीय जगन पुनको रेष्टुरेन्टमा पनि उल्लेख्य क्षति पुगेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मोदी खोलाले तीव्र कटान गरेपछि नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै किम्रुङ खोलामाथिको झोलुङ्गे पुल पनि बाढीले बगाएकाले अन्नपूर्ण पदमार्ग हुँदै आवतजावत गर्ने स्थानीय बासिन्दा तथा स्वदेशी–विदेशी पर्यटक प्रभावित भएका छन्।
उनका अनुसार किम्रुङ खोलामा लेदोसहितको बाढी मिसिएपछि मोदी खोलाको बहाव अचानक बढ्दा क्षति भएको हो।
“अचानक आएको बाढीले एउटा घर र होटल पूर्ण रूपमा बगाएको छ भने अर्को रेष्टुरेन्टमा क्षति पुगेको छ। घान्द्रुक जाने पर्यटकीय सडक पनि बगाएकाले यातायात ठप्प भएको छ,“ अध्यक्ष केसीले बताए।
स्थानीयवासीका अनुसार खोलाको माथिल्लो क्षेत्रमा पहिरो खसेर केही समय नदी थुनिएको र त्यसपछि एकैपटक पानीको निकास खुलेपछि आकस्मिक बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।
बाढीको जोखिम बढेपछि स्थानीय प्रशासन र गाउँपालिकाले मोदी खोला आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन्। प्रशासनले नदी किनारमा नजान, सतर्कता अपनाउन तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह गरेको छ।
घटनापछि गाउँपालिका अध्यक्ष केसी, वडा नम्बर–११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन, उद्धार तथा व्यवस्थापनको काम गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
