काठमाडौं ।सरकारले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्ष नियुक्त गर्दै महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने अधिकार दिएको छ।
मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै श्रेष्ठलाई निगमको कार्यकारी नेतृत्व सुम्पिएको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार श्रेष्ठले अब निगमको सञ्चालक समिति अध्यक्षका साथै महाप्रबन्धकको कार्यभार पनि एकैसाथ सम्हाल्नेछन्। यससँगै निगमको प्रशासनिक र व्यवस्थापकीय नेतृत्व एउटै पदबाट सञ्चालन हुने भएको छ।
नेपाल वायुसेवा निगम लामो समयदेखि व्यवस्थापन, वित्तीय अवस्था, जहाज सञ्चालन, प्रतिस्पर्धात्मक क्षमता र सेवा विस्तारका चुनौतीसँग जुध्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा बढिरहेका बेला निगमको व्यवसायिक सुधार, सेवा गुणस्तर अभिवृद्धि तथा संस्थागत पुनर्संरचनालाई सरकारले प्राथमिकतामा राख्दै आएको छ।
यही सन्दर्भमा कार्यकारी अध्यक्षको जिम्मेवारीसहित महाप्रबन्धकको अधिकार पनि श्रेष्ठलाई दिइएको हो। अब उनको नेतृत्वमा निगमको दैनिक सञ्चालन, व्यवस्थापन सुधार र दीर्घकालीन रणनीतिक योजना कार्यान्वयन हुने अपेक्षा गरिएको छ।