अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको नयाँ कीर्तिमान, पाँच लाखभन्दा बढीले गरे भ्रमण
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमनले नयाँ कीर्तिमान कायम गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा पाँच लाखभन्दा बढी विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत आर्थिक वर्षमा कुल पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा भने दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक मात्र यस क्षेत्रमा पुगेका थिए।
आयोजनाका प्रमुख डा. रवीन कडारियाले गत आर्थिक वर्षमा पर्यटक आगमनले नयाँ अभिलेख बनाएको जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै तीन लाख ७५ हजार ७९७ भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। चिनियाँ पर्यटकको संख्या १२ हजार ५३९ रहेको छ भने अमेरिकाबाट नौ हजार ८८४ पर्यटक यस क्षेत्रमा पुगेका छन्।
गत आर्थिक वर्षमा विश्वका १६९ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका तथ्याङ्कले देखाएको छ। तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार १४५ र अन्य देशका एक लाख २४ हजार ३३१ पर्यटक रहेका छन्।
विशेषगरी गत जेठ महिनामा भारतसहित दक्षिण एसियाली देशबाट आउने पर्यटकको संख्या करिब ३०० प्रतिशतले वृद्धि भएको आयोजनाले जनाएको छ। भारतीय पर्यटकको आगमन यति ठूलो संख्यामा भएको यो पहिलो अवसर भएको डा. कडारियाको भनाइ छ।
पोखरा, मुक्तिनाथलगायतका पर्यटकीय गन्तव्यको भारतमा गरिएको प्रवर्द्धन, सहज यातायात पहुँच तथा सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसारले भारतीय पर्यटकको संख्या बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। गर्मी मौसममा शीतल वातावरणको खोजीमा भारतीय पर्यटकहरू पोखरा र आसपासका क्षेत्रमा पुग्ने गरेका छन्।
वैशाख र जेठ महिनामा पोखराका होटलहरूको अकुपेन्सी दर ९० प्रतिशतसम्म पुगेको थियो। पोखरा आउने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ दर्शनका लागि जाने गरेका छन् भने अन्य मुलुकका पर्यटकहरू पदयात्रा तथा हिमाली पर्यटनका लागि केही दिन पोखरामा बस्ने गरेका छन्।
विश्वप्रसिद्ध पदयात्रा गन्तव्यका रूपमा परिचित अन्नपूर्ण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला पास, उपल्लो मुस्ताङ, मुक्तिनाथ तथा घोडेपानीलगायतका स्थलहरू पर्यटकका प्रमुख आकर्षण हुन्।
करिब सात हजार ६०० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जीवनशैली र सांस्कृतिक सम्पदाका कारण अन्तर्राष्ट्रिय पर्यटकमाझ लोकप्रिय रहेको छ। यस क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका १५ स्थानीय तहका ८७ वटा वडा समेटिएका छन्।
पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र छोटोदेखि लामो दूरीसम्मका विविध पदयात्रा मार्गका कारण अन्नपूर्ण क्षेत्र नेपालको प्रमुख हिमाली पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
