साउन १२ देखि नागढुंगा सुरुङमार्ग सञ्चालनमा, प्रारम्भिक चरणमा बसलाई मात्रै अनुमति
काठमाडौं । बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन १२ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण कार्य सम्पन्न भएपछि हाल प्राविधिक उपकरण जडान तथा अन्तिम परीक्षणको काम भइरहेको छ।
सडक विभागले सुरुङमार्गको औपचारिक उद्घाटनको तयारी गरिरहेको भए पनि सुरुवातदेखि नै चौबिसै घण्टा सञ्चालनमा ल्याइने छैन। प्रारम्भिक चरणमा निश्चित समयका लागि मात्र सञ्चालन गरिने र अवस्था तथा प्रयोगकर्ताको अनुभवका आधारमा क्रमशः पूर्ण क्षमतामा सञ्चालन गरिने आयोजनाले जनाएको छ।
नेपालमा पहिलो पटक सुरुङमार्ग सञ्चालन हुन लागेकाले चालक तथा यात्रुलाई यसको सञ्चालन प्रणालीसँग परिचित गराउन चरणबद्ध रणनीति अपनाइएको हो।
अत्याधुनिक सुरक्षा प्रणाली जडान
सुरुङभित्र सुरक्षालाई प्राथमिकता दिँदै १५ वटा शक्तिशाली जेट फ्यान जडान गरिएको छ। यी फ्यानले कार्बन मोनोअक्साइड र धुवाँको मात्रा मापन गरी आवश्यकता अनुसार स्वचालित रूपमा आफ्नो गति परिवर्तन गर्नेछन्।
त्यस्तै, सुरुङभित्रको प्रकाश व्यवस्थापन पनि पूर्ण रूपमा स्वचालित हुनेछ। बाहिरको मौसम र प्रकाशको अवस्थाअनुसार सुरुङभित्रको बत्तीको उज्यालो स्वतः समायोजन हुने व्यवस्था गरिएको छ।
चौबिसै घण्टा दमकल र फायर फाइटर तयारी अवस्थामा
सम्भावित आगलागी वा अन्य आकस्मिक घटनालाई ध्यानमा राख्दै प्रत्येक ५० मिटरको दूरीमा फायर हाइड्रेट जडान गरिएको छ। आगलागीको संकेत प्राप्त हुनासाथ स्वचालित रूपमा अलार्म बज्ने प्रणाली पनि राखिएको छ।
सुरुङमार्गका दुवै पोर्टल क्षेत्रमा ५ हजार लिटर क्षमताका दुईवटा दमकल चौबिसै घण्टा तयारी अवस्थामा रहनेछन्। साथै, तालिमप्राप्त फायर फाइटरहरूको टोली पनि निरन्तर खटिनेछ। ठूलो विपद्को अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहका दमकल सेवासँग समन्वय गरेर उद्धार तथा नियन्त्रणको व्यवस्था मिलाइएको छ।
सञ्चालनका लागि १४६ जनाको टोली
सुरुङमार्ग सञ्चालनका लागि कुल १४६ जना जनशक्ति परिचालन गरिनेछ। तीमध्ये १४१ जना नेपाली प्राविधिक तथा कर्मचारी रहनेछन् भने पाँच जना विदेशी विज्ञले सुपरभाइजर तथा मेन्टरको भूमिका निर्वाह गर्नेछन्।
नेपालमा सुरुङमार्ग सञ्चालनको अनुभव भएका दक्ष जनशक्ति अभाव भएकाले प्रारम्भिक चरणमा विदेशी विशेषज्ञको सहयोग लिइएको आयोजनाले जनाएको छ।
दैनिक चार हजार सवारी सुरुङमार्ग प्रयोग गर्ने अनुमान
नागढुंगा चेकपोस्ट हुँदै दैनिक सातदेखि आठ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्। प्रारम्भिक अनुमानअनुसार तीमध्ये करिब चार हजार सवारीसाधनलाई सुरुङमार्गतर्फ मोडिने अपेक्षा गरिएको छ।
यसबाट वार्षिक ३० देखि ३५ करोड रुपैयाँसम्म आम्दानी हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ। यद्यपि, वास्तविक आम्दानी सुरुङमार्ग प्रयोगकर्ताको संख्या र सञ्चालन मोडालिटीमा निर्भर रहनेछ।
सुरुवाती केही सातासम्म बस मात्र सञ्चालन हुने
सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पाएको युसिन एआरटी जेभीले प्रारम्भिक चरणमा यात्रुवाहक बसलाई मात्र सञ्चालन गर्न दिने योजना बनाएको छ।
सञ्चालन टोलीका अनुसार पहिलो दुईदेखि तीन सातासम्म परीक्षणका रूपमा बस सेवा मात्र सञ्चालन गरिनेछ। आवश्यक परे सुरुवातमा एकतर्फी बस सञ्चालन गर्ने विकल्पमाथि समेत छलफल भइरहेको छ।
बस सञ्चालन सफल भएपछि क्रमशः दुईतर्फी बस सेवा सुरु गरिने र त्यसपछि साना तथा ठूला सवारीसाधनलाई अनुमति दिइने योजना रहेको छ। अन्तिम सञ्चालन मोडालिटीबारे भने सम्बन्धित निकायबीच छलफल जारी रहेको जनाइएको छ।
हाल सुरुङमार्ग सञ्चालनका लागि आवश्यक कर्मचारीलाई विशेष तालिम प्रदान भइरहेको छ। अधिकांश नेपाली कर्मचारी रहने टोलीलाई पाँच जना विदेशी विज्ञले प्राविधिक सहयोग गरिरहेका छन् भने केही थप विदेशी विशेषज्ञ नेपाल आउने क्रममा रहेका छन्। सञ्चालन टोलीको नेतृत्व चिनियाँ टिम लिडरले गरिरहेका छन्।
