कञ्चनपुरको हुलाकी सडकमा दशक लामो ढिलाइ, पर्यटन र सीमावर्ती अर्थतन्त्र प्रभावित
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा निर्माणाधीन ६२ किलोमिटर लामो हुलाकी सडक ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि झण्डै १० वर्ष बितिसक्दा पनि परियोजना अझै पूरा हुन सकेको छैन। निर्माणमा भएको निरन्तर ढिलाइले स्थानीय जनजीवनसँगै सीमावर्ती पर्यटन, व्यापार र आवागमनमा समेत प्रत्यक्ष असर पारेको छ।
२०७३ फागुनमा तीन चरणमा ठेक्का सम्झौता गरी सुरु गरिएको सडक परियोजनाको पहिलो (डोकेबजार–बेलौरी) र अन्तिम (बेल्डाडी–दैजी) खण्डको काम लगभग सकिए पनि बीचको बेलौरी–बेल्डाडी खण्ड भने अझै नयाँ ठेक्का प्रक्रियामा पुगेको छ।
हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका अनुसार ठेकेदार कम्पनीको ढिलासुस्ती र कमजोर कार्यसम्पादनका कारण परियोजना निर्धारित समयमै सम्पन्न हुन सकेन। कार्यालयले म्याद थप, भुक्तानी र आवश्यक सहजीकरण गरे पनि निर्माण कम्पनीले कामलाई प्राथमिकतामा नराख्दा योजना वर्षौं लम्बिएको जनाएको छ।
बीचको करिब ११ किलोमिटर सडकमा कालोपत्रे गरिए पनि गुणस्तर कमजोर भएकाले धेरै स्थानमा सडक भत्किएको छ। अहिले उक्त खण्डका लागि नयाँ लागत अनुमान तयार पार्ने काम भइरहेको छ भने करिब डेढ महिनाभित्र नयाँ ठेक्का आह्वान गर्ने तयारी गरिएको छ।
परियोजनामा अर्को चुनौती भारतसँगको सीमा क्षेत्र पनि बनेको छ। दशगजा क्षेत्रसँग जोडिएको पचुई आसपासको करिब १.४ किलोमिटर सडक सीमा विवादका कारण कालोपत्रे गर्न नसकिने अवस्था रहेको जनाइएको छ। सो भागबाहेकका क्षेत्रमा निर्माण अघि बढाइने योजना छ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार सडक निर्माणमा भइरहेको ढिलाइका कारण वर्षायाममा सडक हिलाम्मे बन्छ, जसले स्थानीय आवतजावत मात्र होइन, भारतीय सीमासँग जोडिएका बजार र पर्यटकीय गन्तव्यसम्म पुग्ने यात्रुहरूलाई पनि सास्ती हुने गरेको छ।
पर्यटन व्यवसायीहरूका अनुसार कञ्चनपुरका प्राकृतिक, धार्मिक तथा सीमावर्ती गन्तव्यमा सहज पहुँचका लागि हुलाकी सडक महत्वपूर्ण पूर्वाधार हो। गुणस्तरीय सडक समयमै सम्पन्न हुन सके यसले आन्तरिक पर्यटन, सीमापार पर्यटक आवागमन, स्थानीय होटल तथा व्यवसाय र ग्रामीण अर्थतन्त्रलाई उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ। तर लामो समयदेखि परियोजना अधुरै रहँदा यस क्षेत्रको पर्यटन सम्भावनाले अपेक्षित गति लिन सकेको छैन।
