बाढी प्रभावितलाई यूएईबाट १० मिलियन डलर सहयोगको तयारी
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि संयुक्त अरब इमिरेट्स (यूएई) ले १ करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने तयारी गरेको छ ।
यूएई एडको टोलीले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसँग भेट गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री तथा अन्य सहयोग उपलब्ध गराउन आफूहरू इच्छुक रहेको जानकारी गराएको हो ।
भेटका क्रममा यूएईको टोलीले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री र उपकरणबारे प्राधिकरणसँग जानकारी लिएको थियो । त्यसक्रममा प्राधिकरणले प्रभावित क्षेत्रमा अस्थायी पुल निर्माण, खानेपानी शुद्धीकरण तथा सरसफाइका सामग्री, ठूलो परिवारका लागि पाल, चार्ज गर्न मिल्ने पोर्टेबल बत्ती, जेनेरेटर, सोलार प्यानल, स्याटेलाइट फोन र वाकीटकीजस्ता सामग्री अत्यावश्यक रहेको जनाएको थियो ।
प्राधिकरणले आवश्यकताका आधारमा सामग्रीको प्राथमिकता र विवरण उपलब्ध गराएपछि यूएई एडको टोलीले सोहीअनुसार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको कार्यकारी प्रमुख उप्रेतीले बताए ।
भेटमा यूएई एडका अन्तर्राष्ट्रिय सहायता निर्देशक डा. अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीसहितका अधिकारी सहभागी थिए ।
नेपाल र यूएईबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम छ । दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहायता लगायतका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।
