उद्धारमा प्राविधिक चुनौती बढेपछि नेपालले माग्यो अत्याधुनिक उपकरण
काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता खोजी तथा उद्धार अभियान जटिल बन्दै गएपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उद्धार उपकरण र प्राविधिक सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कठिन भूगोल, पहिरो र बाक्लो लेदोका कारण प्रभावित क्षेत्रमा परम्परागत उद्धार विधिबाट काम गर्न चुनौती देखिएपछि उच्च प्रविधिका उपकरणको आवश्यकता परेको हो।
सरकारले विशेषगरी उच्च क्षमताका ड्रोन, लाइडर प्रविधि, मड तथा टनेल रेस्क्यु सुट र पानी तथा लेदो हटाउन प्रयोग हुने उच्च क्षमताका पम्प उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।
जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्धार र बाक्लो लेदोका कारण मानिस पुग्न नसकेका स्थानको अवस्थाबारे जानकारी लिन उच्च क्षमताका ड्रोन र लाइडर प्रविधि उपयोगी हुने सरकारको अपेक्षा छ।
त्यस्तै, लेदो र पानीले भरिएका सुरुङ तथा डुबानग्रस्त क्षेत्रभित्र उद्धारकर्मीलाई सुरक्षित रूपमा प्रवेश गराउन विशेष रेस्क्यु सुट आवश्यक देखिएको छ। सुरुङ र डुबान क्षेत्रमा जमेको पानी तथा लेदो हटाउन उच्च क्षमताका पम्पको पनि माग गरिएको छ।
बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल तत्काल सञ्चालनमा ल्याउन सरकारले बेली ब्रिज, बेपत्ताको पहिचानका लागि डीएनए परीक्षण किट र ल्याब फ्रिजरसमेत माग गरेको मन्त्रालयले जनाएको छ।
विपद्पछि प्रभावित क्षेत्रमा संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य तथा महामारी नियन्त्रणसम्बन्धी सामग्री उपलब्ध गराउन पनि अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गरिएको छ।
पाँच देशका विशेष उद्धार टोली परिचालन
सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि नेपालले विभिन्न मित्रराष्ट्रका विशेषज्ञ टोली परिचालन गरेको छ। नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया, यूएई र मलेसियाका विशेष टनेल रेस्क्यु टोली उद्धार अभियानमा संलग्न छन्।
मन्त्रालयका अनुसार सुरुङभित्र अझै मानिस फसेको अवस्थामा बाक्लो लेदोका कारण उद्धारकर्मीको प्रत्यक्ष प्रवेश जोखिमपूर्ण बनेको छ। यस्तो अवस्थामा टनेल रेस्क्यु सुट र लाइडर प्रविधिले खोजी तथा उद्धारलाई थप सुरक्षित र प्रभावकारी बनाउन सक्ने सरकारको विश्वास छ।
जलविद्युत् आयोजनामा उद्धारलाई प्राथमिकता
बाढी तथा पहिरोबाट प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।
माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–३बी, चिलिमे, रसुवागढी र लाङटाङलगायत आयोजनामा उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। ती क्षेत्रमा थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गर्ने तयारी पनि भइरहेको छ।
बेपत्ता व्यक्तिको खोजी र मृतकको पहिचानका लागि भने भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक विशेषज्ञले नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन्। उनीहरूले डीएनए नमुना संकलन तथा विश्लेषणको काम गरिरहेका छन्।
यसैबीच विपद् व्यवस्थापन र उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका समकक्षीसँग निरन्तर संवाद गरिरहेका छन्। मन्त्रालयका अनुसार सोमबार माल्दिभ्सकी परराष्ट्रमन्त्री इरुथिशम आदमसँग पनि यस विषयमा कुराकानी भएको थियो।
