काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणसँगै विस्थापित परिवारको जीवन र भविष्य पुनर्स्थापित गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देश अहिले बाढी तथा प्राकृतिक विपत्तिको पीडाबाट गुज्रिरहेको उल्लेख गरे।
उनले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरे। घाइतेको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको खोज तथा पहिचानलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए।
राष्ट्रपति पौडेलले संविधान दिवसलाई विपत्तिको पीडा सम्झने, संविधान प्राप्तिको उपलब्धि मनाउने र मुलुकको अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।
उनका अनुसार विकासको अर्थ सडक, पुल र भवन निर्माणमा मात्र सीमित हुनुहुँदैन। नागरिकको जीवन, जीविकोपार्जन र भविष्यलाई सुरक्षित बनाउनु पनि विकासकै महत्वपूर्ण पक्ष हो।
उनले भने, ‘पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ।’
राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक राज्यव्यवस्था जनताको सर्वोच्च हितमा केन्द्रित रहेको विषयलाई राज्यले सधैँ ध्यानमा राख्नुपर्ने बताए।
जलवायु परिवर्तनका कारण थपिँदै गएका चुनौतीलाई सम्बोधन गर्न नेपालको विकासको ढाँचा पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। उनले आगामी विकास प्रक्रिया अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्नेमा जोड दिए।