पूर्वप्रधानन्यायाधीश राणासँग भेटेको आरोपपछि सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ। पदीय जिम्मेवारीविपरीत गतिविधि तथा संवेदनशील सुरक्षा सूचना चुहावटको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको हो।
सशस्त्र प्रहरी बलबाट दाहाललाई कारबाही गर्न सिफारिस भएपछि गृह मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णयमार्फत निलम्बनको प्रक्रिया अघि बढाएको जनाएको छ।
गृह मन्त्रालयका अनुसार दाहालमाथि लागेको आरोपबारे विस्तृत छानबिन गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार जाँचबुझ अधिकृतलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय मर्यादाविपरीतका गतिविधि, संवेदनशील सूचनाको चुहावट तथा शान्ति सुरक्षामा असर पार्न सक्ने क्रियाकलापबारे निगरानी र विश्लेषण भइरहेको जनाएको छ।
कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकै भए पनि प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ। विधिको शासन कायम राख्नुका साथै सार्वजनिक शान्ति तथा सुरक्षाको संरक्षणमा मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ अवस्थामा रहेका बेला उनलाई भेटेको आरोपसमेत लागेको छ। यही घटनासहित पदीय आचरणविपरीतका गतिविधिबारे छानबिन गर्न उनीमाथि निलम्बनको कारबाही गरिएको बताइएको छ।
अब छानबिन समितिको प्रतिवेदनपछि दाहालमाथिको आरोप पुष्टि भए वा नभएको आधारमा थप कारबाहीको प्रक्रिया अघि बढ्नेछ।
