बाढीले बेनी–दरवाङ सडक क्षतिग्रस्त, दुखुबेँसीका १४० घरधुरी जोखिममा
म्याग्दी — म्याग्दी नदीमा आएको बाढीले बेनी–दरवाङ सडकको बालौटे खण्डमा ठूलो क्षति पुर्याएपछि सडक यातायात प्रभावित भएको छ। सडक कटानसँगै मालिका गाउँपालिका–६ स्थित दुखुबेँसी बस्तीसमेत पहिरो र नदी कटानको जोखिममा परेको छ।
असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षापछि आएको बाढीले बालौटे क्षेत्रमा सडकको ठूलो हिस्सा बगाएको हो। उक्त सडक पश्चिम म्याग्दीका मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग हो।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार अर्मनखोलामा आएको बाढीका कारण म्याग्दी नदीको धार परिवर्तन भएपछि सडक कटान भएको हो। सडक भत्किएर नदीको बहाव बस्ती नजिक पुगेपछि दुखुबेँसीका बासिन्दा थप जोखिममा परेका छन्।
सडक अवरुद्ध भएपछि तत्कालका लागि दुखुखोलामा ह्युम पाइप राखेर दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। तर वैकल्पिक सडक साँघुरो, कच्ची र असहज भएकाले ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ।
त्यस क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाका सामग्री तथा उपकरण बोकेका सवारीसाधनसमेत नियमित आवतजावत गर्ने भएकाले वैकल्पिक सडकमा सवारी चाप बढेको छ। बागलुङको तमानखोला क्षेत्रका बासिन्दाले समेत प्रयोग गर्ने उक्त मार्गमा राखिएका ह्युम पाइप बाढीले पुनः बगाउने जोखिमसमेत रहेको स्थानीयको भनाइ छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख राजेश उलकका अनुसार करिब १०० मिटर दूरीमा सडकको कालोपत्रसहितको सम्पूर्ण भाग भत्किएको छ। क्षतिग्रस्त खण्डमा पैदल हिँड्नसमेत जोखिमपूर्ण अवस्था रहेको उनले बताए।
सडकलाई पुनः सञ्चालनमा ल्याउन नदी किनारबाट पक्की संरचना निर्माण गरी सडक पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ। सडकको डिलतर्फ पर्याप्त ठाउँ नभएकाले भित्तो काटेर सडक विस्तार गर्दा बस्तीमा थप जोखिम निम्तिन सक्ने देखिएको छ।
मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाका अनुसार करिब १४० घरधुरी रहेको दुखुबेँसी बस्ती पहिरो र नदी कटानका कारण जोखिममा परेको छ। स्थानीयले सडक सञ्चालनसँगै नदी नियन्त्रण र बस्ती संरक्षणको काम तत्काल अघि बढाउन माग गरेका छन्।
क्षतिग्रस्त सडकको पुनर्निर्माण तथा बस्ती संरक्षणका लागि मंगलबार प्रदेश र स्थानीय तहका अधिकारीले स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणमा गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष गर्बुजा तथा सम्बन्धित प्राविधिक अधिकारी सहभागी थिए।
प्रदेशसभा सदस्य जुग्जालीले सडक सञ्चालन, पुनर्निर्माण, नदी कटान नियन्त्रण र बस्ती संरक्षणका कामलाई एकैसाथ अघि बढाउनुपर्ने बताएका छन्। उनका अनुसार दसैँअघि यातायात सञ्चालन गर्ने गरी सडक मर्मत सुरु गर्ने र आगामी वर्षायाम सुरु हुनुअघि नदी नियन्त्रणको काम पूरा गर्न आवश्यक छ।
मन्त्रालयका सचिव शर्माका अनुसार तत्काल उपलब्ध बजेटबाट ग्याबियन जाली तथा आवश्यक श्रमिक व्यवस्थापन गर्ने र थप बजेटका लागि प्रक्रिया अघि बढाइनेछ। गाउँपालिकाले आवश्यक नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने तथा जलविद्युत् आयोजनाका उपकरणसमेत प्रयोग गरेर कामलाई तीव्रता दिने सहमति भएको छ।
प्रदेश सरकारले विपद्का कारण क्षति पुगेका अन्य जिल्लाका सडकलाई समेत प्राथमिकताका आधारमा मर्मत गरी सञ्चालनमा ल्याउने जनाएको छ।
