दसैँमा नयाँ नोट साट्न सहज, एटिएमबाटै पाइने १०० रुपैयाँका नोट
काठमाडौं । दसैँसहितका चाडपर्वमा नयाँ तथा सफा नोटको माग बढ्ने भएकाले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटिएममार्फत समेत १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन व्यवस्था मिलाउन निर्देशन दिएको छ।
राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटिएमबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन्। यससँगै चाडपर्वका बेला नयाँ नोट लिन बैंकका काउन्टरमा लामो लाइन बस्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार यस वर्ष दसैँका लागि नयाँ नोट वितरणलाई प्राथमिकता दिनुभन्दा सफा र सुकिला नोट सहज रूपमा उपलब्ध गराउने नीति लिइएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको परिस्थितिलाई ध्यानमा राख्दै नयाँ नोटबारे अनावश्यक प्रचार नगर्ने नीति अपनाइएको उनको भनाइ छ।
पौडेलले पैसा साट्ने काम नियमित प्रक्रियाअन्तर्गत पर्ने भएकाले त्यसका लागि हरेक वर्ष छुट्टै प्रचारात्मक सूचना जारी गर्न आवश्यक नरहेको बताए। उनका अनुसार राष्ट्र बैंक तथा वाणिज्य बैंकका शाखाबाट असोज १ गतेदेखि नै सफा तथा सुकिला नोट उपलब्ध गराउने व्यवस्था सुरु भइसकेको छ।
राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि दसैँलाई लक्षित गरेर ठूलो परिमाणमा नयाँ नोट बजारमा पठाउने अभ्यासलाई क्रमशः घटाउँदै आएको छ। नयाँ नोटको सट्टा चलनचल्तीमा रहेका सफा नोटलाई प्राथमिकता दिने नीति लिइएको हो।
राष्ट्र बैंकका अनुसार भदौ ३१ गतेसम्म मुलुकमा चलनचल्तीमा रहेको मुद्रा करिब ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। दसैँको समयमा उक्त रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुन सक्ने अनुमान राष्ट्र बैंकको छ।
यस वर्ष एटिएमबाटै १०० रुपैयाँका नोट उपलब्ध हुने भएपछि सर्वसाधारणलाई चाडपर्वका लागि आवश्यक रकम व्यवस्थापन गर्न थप सहज हुने भएको छ।
