विश्वको छैटौं सर्वोच्च शिखर चोयु हिमालमा नेपालतर्फको नयाँ रुटबाट आरोहणले बढ्लान् पर्यटक ?
टुरिजमफेस संवाददाता
काठमाडौं । विश्वको छैटौं सर्वोच्च शिखर चोयु हिमालमा नेपालतर्फको नयाँ रुटबाट पहिलो पटक आरोहण सुरु भएको छ । चोयु हिमालमा पहिलो पटक नयाँ रुट भएर ६ नेपालीसहित ७ जना आरोहीले सफल आरोहण गरेका हुन् ।
फ्रान्सेली पर्वतारोही अलासडेयर म्याकेन्जीको नेतृत्वमा लाक्पा तेब्बा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, छाङ्बा शेर्पा, गेल्जे शेर्पा र निग्मा वाङ्दा शेर्पाले सफल आरोहण गरेको आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक टासी लाक्पा शेर्पाले जानकारी दिए । चोयु आरोहणका लागि तिब्बतर्फबाट सजिलो मान्ने गरिन्छ ।

तर नेपालबाट पनि आरोहण सफल भएपछि आगामी दिनमा नेपाल हुँदै आरोहण गर्नेको क्रम बढ्ने अपेक्षा गरिएको छ । समिट ट्रेक्स प्रालिका सञ्चालक टासी लाक्पा शेर्पाले नयाँ रुटबाट आरोहण सम्पन्न भएकाले व्यावसायिक रूपमा तिब्बतको दाँजोमा अब यो रुट आरोहीहरूका लागि सजिलो हुने अपेक्षा गर्को बताए ।
खुम्बु क्षेत्रको नाम्चेको थामे हुँदै चोयु हिमालको आधार शिविर पुगिन्छ । टोलीले चुचुरोमा पुग्न ३ दिन लगाएको थियो । चोयुमा पहिलो पटक सन् १९५४ मा तिब्बतर्फबाट अस्ट्रेलियन आरोही हर्बट टीचीसहितको आरोण दलले आरोहण गरेको थियो । सगरमाथाभन्दा २० किलोमिटर पश्चिममा रहेको यो हिमाल तिब्बत र नेपालको सीमामा पर्दछ ।
